सत्तारुढ र विपक्षी दलबीच नेतृत्वको विषयमा कुरा नमिल्दा ‘मिनी संसद’को रुपमा रहेका संसदीय समितिहरुको नेतृत्व चयन हुन सकेको छैन ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा आफूहरुको २५ प्रतिशत सहभागिता रहेको भन्दै सोही अनुपातमा समितिको नेतृत्व पाउनुपर्ने माग गरेको छ ।
तर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी त्यो मान्न तयार नहुँदा लामो समयदेखि संसदीय समितिहरु नेतृत्वविहीन हुँदै आएका छन् ।
सभापति चयनका लागि प्रतिनिधिसभाअन्तर्गतका समितिको भदौ ५ गतेका लागि तय भएको निर्वाचन कार्यतालिका सारेर भदौ १७ पु¥याइएको छ ।
राष्ट्रियसभाको भदौ २ का लागि तय गरिएको कार्यतालिका सारेर १३ गते पुुर्याइएको छ ।
सत्तारुढ दल र विपक्षीबीच नेतृत्व चयनमा सहमति जुट्न नसक्दा मिनी संसद्का रुपमा रहेका समिति नेतृत्वविहीन छन् । जसका कारण समितिले प्रभावकारी रुपमा काम गर्न सकेका छैनन् ।
प्रतिनिधिसभाका विषयत १०, राष्ट्रियसभाका विषयगत ४ र विशेष ३ गरी १७ समिति मध्ये २५ प्रतिशतमा आफूहरुको नेतृत्व दाबी रहने प्रमुख प्रतिपक्षी कांग्रेसले बताइरहेको छ ।
समितिको नेतृत्व टुंगो नहुँदासम्म नामै नदिने अडान राखिरहेको कांग्रेसले नाम दिए पनि नेतृत्व दाबीको विषय भने उसैगरी उठाइरहेको छ ।
कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडू संसद्को कामलाई प्रभावकारी बनाउन पनि आफूहरुको उपस्थितिअनुसारको नेतृत्व पाउनुपर्ने बताउँछन् ।
नेतृत्व नहुँदा अहिले समितिहरु ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्दै आएका छन् । तर एजेण्डा स्थापित हुने गरी भने काम हुन सकिरहेको छैन ।
सत्तारुढ दल पनि संसदीय समितिको नेतृत्व चयन सकभर सहमतिबाटै गर्ने पक्षमा देखिएको छ ।
हरेक विषयमा विपक्षीलाई चिढ्याउँदै जाँदा त्यसले थप समस्या निम्त्याउने भन्दै सत्तारुढ दल सहमतिबाटै नेतृत्व चयनको विषय टुंगो लगाउन तयार रहेको नेपाल कम्युनिष्ट पार्टीका सांसद खगराज अधिकारी बताउँछन् ।
विपक्षी कांग्रेसको आग्रहमा नै सभापति चयनका लागि केही दिन कार्यतालिका सारिएको भन्दै सांसद अधिकारी कांग्रेसले मागे जति नपाए पनि सहमतिबाटै नेतृत्व चयन हुने दाबी गर्छन ।
समितिहरुले सरकारलाई निर्देशन गर्ने मात्र होइन, हरेक काममा खबरदारीसमेत गर्दछन् ।
कुनै विषयमा सुक्ष्म छानबिन गरी सिफारिस गर्ने काम पनि संसदीय समितिकै हुने गर्दछ ।
तर नेतृत्वको अभावले समितिहरुले अहिलेसम्म त्यस्ता कामलाई अगाडि बढाउन नसकेको अवस्थामा सहमतिबाटै नेतृत्व चयन गर्न अब ढिलाइ गर्न हुँदैन । इमेजखबरमा समाचार छ ।