काठमाडौंमा बिमस्टेक चौथो सम्मेलन शुरु

 
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन प्रारम्भ भएको छ ।
प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार राजधानीमा आयोजित विशेष समारोहमा अपराह्न ४ बजे सहभागी राष्ट्रप्रमुख र सरकार प्रमुखहरुलाई स्वागत गर्दै सम्मेलन प्रारम्भ भएको घोषणा गरे ।
अध्यक्षको आसनबाट उद्घाटन मन्तव्य व्यक्त गर्दै उनले बिम्स्टेकको गहन एकीकरणको अपरिहार्यतामा जोड दिँदै शान्त, दीगो विकासतर्फ उन्मुख एवं समृद्ध बिम्स्टेक क्षेत्र बनाउन सबै सदस्य मुलुकबाट आवश्यक प्रयास हुने विश्वास व्यक्त गरे ।
सम्मेलनमा नेपालसहित सातओटै सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख सहभागी छन् ।
शिखर सम्मेलनमा म्यानमारका राष्ट्रपति विन मिन्त र श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आ–आफ्नो मुलुकको प्रतिनिधिमन्डलको नेतृत्व गरेका छन् ।
त्यसैगरी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ चा नेतृत्वको प्रतिनिधिमन्डल सम्मेलनमा सहभागी भएको छ ।
सम्मेलनमा कायममुकायम प्रधानन्याधीश, संघीय संसदका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, पूर्वप्रधानमन्त्री, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, बिम्स्टेकका महासचिव, नेपाल सरकारका वरिष्ठ अधिकारीलगायत उपस्थित छन् ।
शिखर बैठकको प्रारम्भसँगै अध्यक्ष ओलीपछि सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले वर्णानुक्रमानुसार सम्बोधन गर्नेछन् ।
‘शान्त, समृद्ध र दीगोपनातर्फ उन्मुख बंगालको खाडी क्षेत्र’माकेन्द्रित रहेर उनीहरुले आफ्ना अभिव्यक्ति प्रकट गर्नेछन् ।
काठमाडौं घोषणापत्र जारी गर्दै शुक्रबार अपराह्न शिखर सम्मेलन समापन हुनेछ । सम्मेलन समाप्तिसँगै बिम्स्टेकको अध्यक्षता श्रीलंकाले गर्नेछ ।
यसअघि, सन् २००४ मा थाइल्यान्ड, २००८ मा भारत र २०१४ मा म्यानमारमा बिम्स्टेक शिखर सम्मेलन भएको थियो । रासस

 बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलन राजधानीको होटल सोल्टीमा सुरु भएको छ ।
बैठकमा नेपालका प्रधानमन्त्री केपी ओली, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्ट, श्रीलंकका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा सहभागी छन्।
सम्मेलनलाई पहिला प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने छन् । उनले २२ मिनेट बोल्ने छन्। त्यसपछि अन्य सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखले १५/१५ मिनेट बोल्ने कार्यक्रम रहेको छ। – कान्तिपुर