भूकम्पपीडितलाई दिइने अनुदानको म्याद थपियो

news
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितले निजी आवास निर्माणका लागि सरकारबाट पाउने अनुदानको तेस्रो किस्ता चालू आर्थिक वर्षको अन्तिमसम्म लिनसक्ने निर्णय गरेको छ ।
गत आर्थिक वर्षको अन्तिमसम्म घर निर्माण गर्नेलाई तेस्रो किस्ता अनुदान उपलब्ध गराउने निर्णय यसअघि भएकामा अब त्यसलाई बढाएर चालू वर्षको अन्तिमसम्म पुर्‍याइएको हो ।
बिहीबार सिंहदरबारमा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले सहरी क्षेत्र, विपन्न वर्ग, बस्ती स्थानान्तरण तथा परम्परागत बस्तीबाहेकका निजी आवास चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने र त्यसका लागि अन्तिम किस्ता रकम असार मसान्तसम्ममा प्राप्त गर्नसक्ने निर्णय गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए ।
बैठकले स्थानीयस्तरबाट आउने गुनासो सुन्ने, अनुगमन गर्ने र आवश्यक कारबाहीका लागि प्राधिकरणसमक्ष सिफारिस गर्ने अधिकार स्थानीय तहलाई दिने निर्णय गरेको छ ।
यसअघि, जिल्लाले सिफारिस गर्ने गरेकामा अब स्थानीय तहले सिफारिस गर्ने र जिल्लाले अनुगमन गर्ने व्यवस्था मिलाउने निर्णय भएको कार्यकारी अधिकृत ज्ञवालीले बताए ।
यसैगरी, आफ्नै जमिन नभएका भूकम्पपीडितलाई स्थानीय तहको सिफारिसअनुसार बस्ती स्थानान्तरणको सुविधा उपलब्ध गराउने र आवास निर्माण थाल्ने निर्णय पनि बैठकले गरेको छ ।
प्राधिकरण निर्देशक समितिले पुनःनिर्माणमा खटिएका सम्पूर्ण कर्मचारीलाई प्राधिकरण मातहत ल्याउने निर्णय पनि गरेको बताइएको छ । इमेजखबरमा समाचार छ ।