अफगानिस्तानको काबुलमा ९ जना नेपाली तालिबानको आक्रमणमा परी घाइते

विद्रोही समूह तालिबानको आक्रमणमा परी अफगानिस्तानको काबुलमा ९ नेपाली घाइते भएका छन्।
सुरक्षा गार्ड उपलब्ध गराउने बेलायती संस्था जिफोरएसको कार्यालयमा बुधबार भएको आत्मघाती हमलामा परी त्यहाँ कार्यरत ९ नेपाली घाइते भएको स्रोतले   पुष्टी गरेको छ।
घाइतेहरूमध्ये तीन जनालाई गोली लागेको छ। उनीहरूसहित ६ जनाको अवस्था गम्भीर छ भने ३ जना सामान्य घाइते भएका छन्।
तीन जनामध्ये एकजनालाई पेटमा र अर्कालाई देब्रे तीघ्रामा गोली लागेको छ।  उनको ओठ पनि काटिएको छ। अर्कालाई कम्मर र घुँडामा गोली लागेको छ।
एकजनाको खुट्टाको तल्लो भाग जलेको छ। दुई जनाको टाउकोमा घाउ भएको छ तीमध्ये एउटा कानमा पनि चोट लागेको छ।
एक जनालाई खुट्टामा छर्रा लागेको छ भने दुईजनाको छातीमा चोट लागेको छ।
घाइतेमध्ये ६ जनाको बागराम अस्पताल र  ३ जनाको नर्थ केएआइए अस्पतालमा उपचार भइरहेको छ।
नर्थ केएआइए अस्पतालमा उपचार हुनेहरू सामान्य घाइते रहेको र उनीहरूको आजै डिस्चार्ज हुने बताइएको छ।
बुधबार भएको उक्त हमलामा परी एक बेलायती नागरिकसहित कम्तिमा ६ जनाको मृत्यु भएको थियो।
यसअघि २०७३ असारमा क्यानडियन दूतावासको सुरक्षामा खटिएका १२ नेपालीको आत्मघाती हमला परी मृत्यु भएको थियो। – सेतोपाटी