टीकापुरमा घटनालाई राजनीतिकरुपमा समाधान गर्न माग

news
तीन वर्षअघि कैलालीको टीकापुरमा ९ जनाको ज्यान जानेगरी भएको घटनालाई राजनीतिकरुपमा समाधान गर्न माग गरिएको छ ।
थरुहट/थारुवान आन्दोलनकाक्रममा भएको घटना राजनीतिक रहेकाले राजनीतिक मुद्दाकैरुपमा समाधान गर्नुपर्ने थारु कल्याणकारिणीसभा कैलालीले माग गरेको हो ।
मंगलबार धनगढीमा पत्रकार सम्मेलन गरी यस्तो माग गरिएको हो ।
टीकापुर घटना राजनीतिक रहेको भन्दै यसलाई राजनीतिक मु्द्दाकैरुपमा सम्बोधन गर्नुपर्ने जिकिर थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलालीका कार्यवाहक संयोजक कृष्णकुमार चौधरीले गरे ।
थारु कल्याणकारिणीसभा कैलालीले सांसद निर्वाचित रेशमलाल चौधरीलाई निर्वाचित प्रमाणपत्र दिन र शपथग्रहणको व्यवस्था तत्काल गरिनुपर्ने मागसमेत गरेको छ ।
यस्तै, घटनाका बन्दीहरुलाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने माग गरिएको छ ।
टीकापुर घटनाबारे छानबिनका लागि पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरिएको छ ।
थरुहट/थारुवान आन्दोलनकाक्रममा वि.सं. २०७२ साल भदौ ७ गते टीकापुरमा हिंसात्मक झडप हुँदा ८ सुरक्षाकर्मी र एक नाबालकसहित ९ जनाको ज्यान गएको थियो ।
सरकारले ५८ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र डाँका–चोरी मुद्दा लगाएको छ । मुद्दा लागेकामध्ये ३२ जना अझैसम्म फरार छन् ।
पक्राउ परेका २६ जनामध्ये २३ जनालाई कैलाली कारागारमा, सांसद निर्वाचित चौधरीलाई काठमाडौंमा र दुईजना नाबालकहरुलाई सुधारगृह पोखरामा राखिएको छ ।
टीकापुर घटनालगत्तै गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सरकारले अझैसम्म सार्वजनिक गरेको छैन ।
सो घटनाको न्याय–निसाफमा ढिलाइ भएको भन्दै थारु कल्याणकारिणीसभाले कैलालीका १३ ओटै स्थानीय तहमा टीकापुर घटनाबारे जागरण अभियान सन्चालन गर्ने जनाएको छ ।
यही मंसिर २३ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइने जनाइएको छ ।
२४ गतेदेखि जागरण अभियानको थालनी गर्ने र यसको सुरुआत टीकापुरबाट गरिने उल्लेख गरिएको छ ।
पहिलो चरणमा दुई महिनासम्म जागरण अभियान, दोस्रो चरणमा धर्ना कार्यक्रम गर्ने र माग सम्बोधन नभए सशक्तरुपमा सडक आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ । इमेजखबरमा समाचार छ ।