शीतगंगाको पाँकुरीमा मकै जोगाउन बारीमै बास

वीरेन्द्र केसी कान्तिपुर 
अर्घाखाँची — बारीको छेउमा सिरक, डसना र सिरानीसहित बेड–बिस्तरा छ । बेडमुनि कसौडी, थाल, गिलास र जर्किन छन् । ताउला, गाग्री, बाँसका ढुंग्रा र लौरा पनि छन् ।
पाँकुरीवासी घर नभएर बारीको छेउमा यसरी बसेका होइनन् । पाक्नै आँटेका हिउँदे मकै जोगाउन उनीहरूले यो कष्ट सहेका हुन् । यहाँका किसानले मंसिर र पुस महिनामा बारीमै चौकीदारी गर्नुपर्छ । नत्र बँदेलले बाली नै सखाप पारिदिन्छन् ।
‘बारीमा चिसो उल्का छ, ताता कपडा लगाएर कम्बल र सिरक ओढेर बस्नुपर्छ,’ शीतगंगा नगरपालिका पाँकुरीका कमान सारूले भने, ‘यसरी नबसे रातिमा बँदेलको बगालै बारीमा पसेर मकै स्वाहा पारिदिन्छन् ।’ हिउँदे खेती मात्र होइन, बाह्रै महिना यहाँका किसानले बारीमा चौकीदारी गरेर बँदेलको मुखबाट अन्नबाली जोगाउनुपरेको उनले बताए । ‘५२ वर्षको भएँ,’ उनले भने, ‘बाल्यावस्थादेखि नै यसैगरी अन्न जोगाएर परिवार पाल्नुपरेको छ ।’
यहाँ बेमौसमी उत्पादन राम्रो हुन्छ । त्यसैले यहाँका किसान बेमौसमी खेतीमा उत्साहित भएर लागेका छन् । अहिले मकै खेती जोगाउन उनीहरू बारीमा बेड–बिस्तरासहित बस्न बाध्य भएका हुन् । ‘बेला–बेलामा थाल, टिन, ताउला र गाग्री ठटाउँछौं,’ कमानले भने, ‘होहल्ला गरेर ढुंग्रो बजाउँछौं । यसो गर्दा बँदेल डरले बारीमा आउँदैनन् ।’ परिवारका सदस्यहरू आलोपालो बँदेल हेरालु बस्ने गरेका छन् । बाह्रै महिना बँदेलले सताउँछ । यतिबेला बारीमा अरू बाली नभएकाले मकैमा बढी जोड गर्नुपरेको बसुन्धरा सारूले बताइन् ।
अहिले बारीमा लगाइएको मकै दुधालु भइसकेको छ । बजार नजिकै भएको भए बिक्रीबाट राम्रो आम्दानी हुन्थ्यो । घर पल्तिर मोटरबाटो त छ । तर, गाडी खासै चल्दैनन् । कारण, जंगलमा छरिएर रहेको बस्ती छ । दूरी लामो भएकाले तेल खर्च पनि उठ्दैन भनेर बस व्यवसायीले गाडी चलाउन नमानेको स्थानीयले बताए । वर्षौंदेखि यहाँ हिउँदे मकै खेती गरिँदै आएको र बजारको अभावमा पाहुना, इस्टमित्र र नातेदारलाई बाँड्नमै ठिक्क भएको स्थानीयले गुनासो गरे । ‘बजारमा बेच्दा घोगाको २० रुपैयाँ पर्छ,’ बसुन्धराले भनिन्, ‘अढाइ घण्टा पैदल हिँडेर बल्ल गाडी चढ्नुपर्छ ।’ बीस रुपैयाँका दरले बेच्दा बारीमा ५० हजार रुपैयाँभन्दा बढीका मकै रहेको उनले सुनाइन् । यहाँका स्थानीय मकै पाकेपछि पोलेर, भुटेर र आटोबनाएर खान्छन् ।
उनले ४ रोपनी बारीमा हिउँदे र १२ रोपनीमा बर्खे मकै खेती गर्ने बताइन् । स्थानीयले बँदेल धपाइदिन सांसद, जनप्रतिनिधि र प्रहरी प्रशासनलाई बारम्बार आग्रह गर्ने गरेका छन् । ‘चुनावका बेला नेताले हामीलाई भोट दिनुस्, कानुन बनाएर बँदेल धपाइदिन्छौं भन्छन्,’ स्थानीय विमला मगरले भनिन्, ‘यस्तो वाचा सधैंको निर्वाचनमा सुन्छौं तर जितेपछि ती माग कहिल्यै पूरा भएनन् ।’ बँदेल मार्न वन्यजन्तु ऐनले बन्देज गरेका कारण पनि यहाँका किसान आफ्नो खेती नोक्सान गरेको टुलुटुलु हेर्न बाध्य छन् ।
पाँकुरीका २५, सिस्नेका ७, लामिदमार र ढाँडखोलाका ३५ घरले हिउँदे मकै खेती गर्छन् । चन्द्रौटा बजारमा पुर्‍याए मूल्य राम्रै पर्छ । तर, त्यहाँसम्म यातायातको सहज पहुँच नभएकाले समस्या भएको स्थानीयको गुनासो छ । सिद्धाराका स्थानीय एवं जिसस उपप्रमुख ऋषिबहादुर पुलामीले बँदेलको प्रकोप सिद्धारामा पनि बढेको बताए । ‘आलु, तरकारी, पिँडालुसमेत खाइदिएर हैरान छ,’ उनले भने, ‘घनाजंगल र छरिएर रहेको बस्ती छ । रातभर हेरालु बसे पनि कतिबेला आएर खान्छन्, पत्तै हुँदैन ।’
शीतगंगा नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीले सिद्धारासहित सिंगो शीतगंगा नगरभित्रका बस्तीमा बँदेलले अन्नबाली खाएर मान्छेको उठीबास नै लगाउन थालेको बताए । ‘प्रदेश सरकारसँग समस्या राखेका छौं,’ उनले भने, ‘कानुन बनाएर मार्ने या नियन्त्रणका अरू उपाय अपनाउनुपर्छ । छरिएको बस्ती भएकाले तारबार गरेर जोगाउन बजेटले धान्दैन ।’

अन्य समाचारहरु