वीरेन्द्र केसी कान्तिपुर
सन्धिखर्क, अर्घाखाँची । पाली गाउँका दिलबहादुर सुनारसँग ११ वर्षअघि सीताको बिहे भएको थियो । उनीहरूले एक सन्तान जन्माए । समयक्रममा पति–पत्नीबीच कुरा मिलेन । झै–झगडा र विवादले सम्बन्धमा तीक्तता आएपछि कानुनी प्रक्रिया अपनाएर छुट्टिने निर्णय लिए ।
भदौ १ गतेबाट लागू भएको देवानी फौजदारी संहिता ऐनमा पुरुषले पनि सम्बन्धविच्छेदको मुद्दा अदालतमा दर्ता गर्न पाउने व्यवस्था भएपछि दिलबहादुरले पत्नी सीतासँग अलग भएर बस्न पाउँm भनी मुद्दा दर्ता गरे । ‘विवाह भएर छोरा जन्मियो तर अहिले आएर कुरा मिलेन । त्यसैले सम्बन्धविच्छेद गर्न मुद्दा दर्ता गरेको हुँ,’ उनले भने, ‘भरसक मिलेरै बस्ने हो । धेरै पीडा भएपछि सँगै बस्नु हुँदैन ।’
६ वर्षीय उनका छोरा मुद्दा दर्ता भएदेखि नै आमाबाबुसँग पालैपालो बसेका छन् । नयाँ ऐनमा पुरुषले पनि सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न पाउने भए पनि महिला–पुरुषलाई समान अधिकार भएको उनले बताए । सम्बन्धविच्छेदसम्मको अवस्था आउँछ भन्ने सीतालाई कल्पनै थिएन । बिहे भएको केही वर्षसम्म सम्बन्ध राम्रै रहेको उनले बताइन् ।
असमझदारी बढ्दा धेरै तनाव र पीडा भएपछि अप्ठ्यारो भएको उनले सुनाइन् । ‘हामीबीच कुरा मिलेको थिएन । उहाँले त डिभोर्स गर्ने भनेर अदालतमा मुद्दा नै दर्ता गर्नुभएछ,’ उनले भनिन्, ‘आपसका तीक्तताका कुरा भनिसाध्य छैनन् ।’
नयाँ ऐन लागू हुनुभन्दा अघिसम्म पति–पत्नीबीच झगडा भए श्रीमतीले मात्रै सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्न पाउने व्यवस्था थियो । नयाँ ऐनमा पुरुषलाई पनि अधिकार भएपछि तीन महिनामा उनीसहित अर्घाखाँची अदालतमा ११ जना पुरुषले श्रीमतीसँग डिभोर्सको मुद्दा दर्ता गरेका छन् ।
‘मुद्दा दर्ता भए पनि एक वर्षसम्म दुवै जनाबीच छलफल गराएर मेलमिलाप गराइने प्रयास गरिन्छ । नमिलेपछि बल्ल कानुनबमोजिम मुद्दा फैसला हुन्छ,’ अदालतका सूचना अधिकारी टेकनारायण गैरेले बताए । छत्रदेव गाउँपालिका–५ का किरण खत्री क्षत्रीले श्रीमती अञ्जुसँग डिभोर्स गरिपाउँ भनी दर्ता गरेको मुद्दा मिलापत्रमा टुंगिएको उनले बताए । ‘अब १० थान मुद्दा फैसला र मिलापत्र हुन बाँकी छन्,’ गैरेले भने । ३९ थान सम्बन्धविच्छेदका मुद्दा महिलाले दर्ता गराएका छन् । त्यसमा २१ मुद्दा मात्रै फैसला भएका छन् ।
न्यायाधीश रामचन्द्र पौडेलले पुरुषले पनि सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न पाउने कानुन आएपछि ३ महिनामा ११ जना पुरुषले श्रीमतीसँग सम्बन्धविच्छेद गर्न पाउँ भनी मुद्दा दर्ता गराएको बताए । ‘सम्बन्धविच्छेद गर्नेमा बहुसंख्यक लभ म्यारिज र छिटफुट मागी विवाद गरेका दम्पती छन्,’ उनले भने, ‘यसमा ३० वर्षभित्रका जोडी धेरै छन् ।’
यसअघि सम्बन्धविच्छेदका लागि पुरुषले अदालतमा मुद्दा दिन नपाउने तथा घुमाउरो र लामो प्रक्रिया अपनाउनुपर्ने अवस्था थियो । अहिले सम्बन्धविच्छेदको मुद्दा लिएर सोझै अदालत जान सक्ने सुविधा भएपछि वर्षौंदेखि न्यायालयमा जान नसकेका पुरुष अदालत पुग्न थालेका छन् ।
यस्ता मुद्दा स्थानीय तहमा पनि दर्ता भएका छन् । सन्धिखर्क नगरपालिकाको न्यायिक समितिमा तीनजना पुरुषले पत्नीसँग सम्बन्धविच्छेद गरी पाऊँ भनी निवेदन दर्ता गराएको नगर उपप्रमुख एवं न्यायिक समितिका संयोजक ठाकुरकुमार विकले बताए । ‘दर्ता भएका मुद्दाका सबालमा हामीले दुवै पक्षलाई बोलाएर छलफल गराउँछौं, मिलाउने प्रयास गर्छौं,’ उनले भने, ‘नमिलेमा मात्र अदालत पठाउँछौं ।’ भूमिकास्थान नगरपालिकामा पनि दुई पुरुषले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएका छन् ।