अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची मंसिर १८ – मंसिर १ गतेबाट सन्धिखर्कमा सुरु भएको १ सय १० घण्टे सहर्योग प्रशिक्षक प्रशिक्षण तालिमको एक कार्यक्रमका बीच समापन गरिएको छ ।
योग तालिममा राष्ट्रिय स्तरका प्रशिक्षकहरुले प्रशिक्षण दिएका थिए । तालिमको समापन समारोहमा बोल्दै पतञ्जली योग समितिका केन्द्रीय सदस्य तथा नेपाल सरकारका पूर्व सहसचिव वरिष्ठ प्रशिक्षक रुद्रनाथ बस्यालले योगले व्यक्तिको जीवनमा ठूलो परिवर्तन ल्याउने बताउनुभयो । उहाँले स्वस्थ रहनका लागि योग अपरिहार्य बनिसकेकाले यसको प्रचार प्रसारमा जुटनु पर्नेमा जोड दिनुभयो । अर्घाखाँचीका पूर्व सिडियो समेत रहनुभएका बस्यालले योग ब्याधि देखि समाधि सम्म आवश्यक रहेको भन्दै योगको बारेमा कसैले पनि भ्रम पाल्न नहुने बताउनुभयो । निधाएर खर्च गर्ने समयलाई सदुपयोग गर्दै योग गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।
प्रहरी नायव उपरिक्षक नवराज मल्लले योग मानिसलाई सतकर्ममा ल्याउने माध्यमको रुपमा रहेको बताउनुभयो । उहाँले योग प्रतिको आकर्षण बढिरहेका बेला प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गर्नुले यसको महत्व झनै उजागर हुने बताउनुभयो । तालिममा प्रशिक्षण लिनु भएका मल्लले आफूले सिकेका कुराहरु अरुलाई सिकाउँदै योग अभियानलाई सार्थक तुल्याउन सहयोग पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । समाजसेवी तथा नेकपाका नेता जनार्दन खनालले योग र प्राकृतिक चिकित्सा विधिमा राज्यले आवश्य वजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । उहाँले प्रत्येक स्थानीय तहले योगा गर्नका लागि भवनहरु निर्माण गर्नु पर्ने बताउनुभयो । पतञ्जली योग समितिका केन्द्रीय सदस्य शान्ता खत्रीले योगलाई हासि,खुसी जीवन जीउने कलाको रुपमा चित्रण गर्नुभयो ।
कार्यक्रममा पतञ्जली योग समितिका प्रदेश सदस्य विना पन्थी, समितिका जिल्ला उपाध्यक्ष ठाकुर प्रसाद श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम समितिका जिल्ला अध्यक्ष प्रेमनारायण पोख्रेलको अध्यक्षता, डिलाराम भुसालको स्वागत मन्तव्य र नरेन्द्र न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो । करिव १ सय जनाले प्रशिक्षण लिइ प्रशिक्षक बनेका छन् । प्रशिक्षकहरु लोकनाथ ढकाल, रामसेवक मण्डल, दिपक बस्याल, घनश्याम अधिकारी, रोवरसिंह ढकाल लगायतले प्रशिक्षण दिनुभएको थियो । सन्धिखर्कका तिन ठाउँमा नियमित रुपमा योग शिविर सञ्चालन हुँदै आएको छ । शान्तिवगैंचाको धर्मशाला, चुत्रावेशीको सिद्धेश्वर शिवालय मन्दिर र जिल्ला आयुर्वेद कार्यालयमा विहान, बेलुका शिविर सञ्चालन हुने गरेको छ ।