भोजपुरे खुकुरी चिनाउन देशव्यापी हिंडेका साइकलयात्री अर्घाखाँचीमा

प्रेम खड्का 
सन्धिखर्क । भोजपुर नगरपालिका– ११ आम्तेक पितौला पुर्ख्यौली घर भई झापाको भद्रपुर नगरपालिका ७ गर्मेन्टचोकमा बस्दै आएका २२ वर्षका तेजप्रसाद पराजुली भोजपुरे खुकुरीको प्रचार गर्न साइकल यात्रा क्रममा अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आएका छन् । 
जिल्लाको गौरवको रूपमा रहेको तर पछिल्ला वर्ष लोप हुने स्थितिमा पुगेको ‘भोजपुरको खुकुरी बचाऔँ’ अभियानका लागी उनी साइकल यात्रा गरी देश दौडाहामा हिडेका हुन् । 
उनी साइकल यात्राको क्रममा अर्घाखाँची पुगेका हुन् । भोजपुरको खुकुरी बनाउने सीपयुक्त मान्छे घटिरहेको स्थिति छ, त्यसैले त्यो सीप नयाँ पुस्तामा हस्तान्तरण गर्ने, नयाँ पुस्तालाई त्यसको निर्माणको सीप सिक्न प्रेरणा जागृत गर्ने उद्देश्यले आफूले देशव्यापी साइकलयात्राको थालनी गरेको पराजुली बताउँछन् ।
गत बैशाखमा मेची महाकाली साइकल यात्रा गर्ने क्रममा लुम्बिनीमा आइपुग्दा एक जना टर्कीको पर्यटकसँग भेट भयो । उनीसँगको कुराकानीका क्रममा म टर्कीदेखि तिम्रो देशमा आएको छु भने तिमीले आफ्नै देशमा साइकल यात्रा गर्न सक्देनौँ ? भन्ने प्रश्न गरे, त्यसपछि उनले साइकल यात्राको महत्व अझ बढेको बताए । उनकै प्रेरणाले आफूले यसै वर्षको वैशाखबाट सुरु गरेको देश यात्राको अभियान आउँदो चैत महिनाभित्र सम्पन्न गर्ने उनको लक्ष्य छ ।
यात्राका क्रममा लाग्ने खर्च सामान्य सहयोगबाट चलेको छु, खान र बस्नका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल जहाँ अनुकुल हुन्छ त्यहाँ बस्ने र खाने गरेको छु उनी भन्छन् । आफूले यात्रा गरिरहेको साइकलको मूल्य एकलाख १८ हजार रुपैयाँ पर्ने उनको भनाइ छ ।

अन्य समाचारहरु