प्रेमनारायण आचार्य
सन्धिखर्क – अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा जबरजस्ती करणीको आरोपमा फरार अभियुक्त मृत फेला परेका छन्।
भूमिकास्थान नगरपालिका वडा नम्बर – ३ धारापानी रातामाटाको पोखराचौरमा अन्दाजी ५५ वर्षीय प्रेमनारायण बन्जाडे आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् ।
बन्जाडे भूमिकास्थान नगरपालिका वडा नम्बर ३ रातामाटाकै एक मानसिक सन्तुलन गुमाएकी महिलालाइ जबर्जस्ती करणी गरेको आरोपमा फरार अभियुक्त रहेको प्रहरीले जनाएको छ। उनी विरुद्ध केही महिना अगाडि जबरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्कस्थित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको थियो। जबरजस्ती करणीको मुद्दा लागेपछी उनी फरार थिए। बन्जाडेलाई प्रहरीले खोजी गरिरहेकाे थियाे।
परिवारकाअनुसार उनी बुधबार मात्र घरमा आएका थिए। आफ्नै घर नजिकै रहेको खन्युको रुखमा झुन्डिएको अवस्थामा बिहीबार घरपरिवारले फेला पारेका हुन्। मृतक बन्जाडेको घरमा दुई छोरी, एक छोरा र श्रीमती रहेका छन्। बन्जाडेले आत्महत्या गर्नु अगाडि एउटा पत्र लेखेर झुण्डिएको प्रहरी निरिक्षक गंभीरजंग थापाले जानकारी दिए।