डिभर्नाको बिजय माध्यमिक बिद्यालयमा ६० औँ बार्षिक उत्सव सम्पन्न

बसन्त श्रेष्ठ ‘छापेली’
२९ मंसिर २०७५ – अबको प्राथमिकता प्राबिधिक र व्यवसायिक शिक्षा रहेको राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का उज्वलले बताउनुुभएको छ । बिजय माध्यमिक बिद्यालय सन्धिखर्क नगरपालिका ११ डिभर्नाको ६० औँ बार्षिक उत्सवको उद्घाटन समारोहमा बोल्दै नेकपाका नेता खड्काले समय सुहाउदो शिक्षामा राज्यको प्राथमिकता रहेको उल्लेख गर्नुभयो ।
प्रमुख अथिति रहनुभएका खड्काले शिक्षाको गुणस्तरीयता र व्यवसायिकता अहिलेको जल्दो बल्दो सवाल रहेको भन्दै बिजय मा.बि मा प्राबिधिक तथा व्यवसायिक शिक्षाको सम्भाब्यता अध्ययन गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले बिद्यालयको जिल्ला व्यापी उत्कृष्ठ छबि रहेको भन्दै बिद्यालयको पूर्वाधारको निर्माणमा आफु केन्द्रित हुने बताउनुभयो । सन्धिखर्क नगरपालिका उप–प्रमुख ठाकुर कुमार बि.क किशोरले मुलुकको शिक्षा प्राणाली प्रति चिन्ता व्यक्त गर्दै अबको बिकल्प व्यावहारिक र व्यवसायिक शिक्षा रहेको बताउनुभयो ।
बिशिष्ठ अथिति रहनुभएका उहाँले शिक्षा व्यवहारमा देखिए मात्रै सफल हुने भन्दै शैक्षिक विकासमा नगरपालिकाले प्राबिधिक, व्यवसायिक र व्यवहारिकतामा जोड दिएको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिदै बिभिन्न स्वरोजगार मूलक सीप र लगानी गर्ने बातावरण श्रृजना गर्ने उल्लेख गर्नुभयो ।
उहाँले युवा तथा किशोर किशोरी मैत्री शिक्षा, लागुु औषध, लैंगिक हिंसा तथा मात्री भाषामा समेत शिक्षा दिने नगरपालिकाको नीति रहेको जानकारी गराउनुभयो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँचीका प्रमुख मणिराम पराजुली, बिद्यालयका पूर्व प्राचार्य बाबुराम आचार्य, पूर्व उच्च मा.बि संयोजक लालमणि खनाल, नगर शिक्षा अधिकृत चोपलाल बेल्बासे, श्रोत व्यक्ति युवराज भुसाल, शिक्षा अधिकृत देबिराम आचार्य, पत्रकार महासंघका जिल्ला सदस्य बसन्त श्रेष्ठ, बिद्यार्थी अभिभावक टिकाराम आचार्य, बिद्यार्थी सुरज शाह लगायतले मन्तब्य राख्दै बिद्यालयको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
बिद्यालय प्राचार्य भुपाल खनालले बिद्यालयको बार्षिक प्रगति तथा आर्थिक प्रतिबेदन पेश गर्नुभएको कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडाध्यक्ष धुर्वराज आचार्यको अध्यक्षता, शिक्षक प्रभात कुवँरको सञ्चालन र शिक्षिका सीता श्रेष्ठको स्वागत मन्तब्य रहेको थियो । सोही अवसरमा बिद्यार्थीहरुलाई पुुरस्कार तथा प्रमाण पत्र बितरण गरिएको थियो । कार्यक्रममा शिक्षकहरु गिरबहादुर भाट क्षेत्री, गिरबहादुर चुदाली, नारायण खनाल लगायतका शिक्षकहरको सहजीकरण रहेको थियो ।

अन्य समाचारहरु