बझाङको प्रशिद्ध धार्मिक एवं पर्यटकीय स्थल तपोवन क्षेत्र प्रचारप्रसारको अभावमा बेवारिसे अवस्थामा

news

डीबी विष्ट
बझाङ, मंसिर २८ । बझाङ जिल्लकै प्रशिद्ध धार्मिक एवं पर्यटकीय स्थलमा रुपमा परिचित तपोवन क्षेत्र प्रचारप्रसारको अभावमा बेवारिसे अवस्थामा पुगेको छ । तातोपानीका मुहानहरु रहेको यस क्षेत्रकाबारे देश–विदेशमा प्रचार प्रसार गर्न सके बझाङ जिल्लाकै विकास हुने स्थानीय बुद्धिजीवी बताउँछन् ।
साविक सुनिकोट गाविसको भाटगाउँ नजिक रहेको तपोवन क्षेत्र हाल तल्कोट गाउँपालिकाको वडा नं १ मा पर्दछ । यहाँ सेती नदीको किनार वारी र पारी गरेर ६ वटाभन्दा बढी तातोपानीका मुहान छन् । मानसखण्ड पुराणमा उल्लेख भएअनुसार अत्रि ऋषिले तपस्या गरेको ठाउँ भएकाले यस क्षेत्रलाई तपोवन भनिएको हो ।
यहाँ माघे संक्रान्ति, श्रीपञ्चमी, फागु पुर्णिमामा विषेश मेला लाग्ने गर्दछ । मेला भर्न तथा तातोपानीमा स्नान गर्नका लागि बझाङ, डोटी, अछाम र सुदुरपश्चिमका पहाडी जिल्लाबाट श्रद्धालुहरु यहाँ पुग्ने गर्दछन् ।
मेलाको दिन यहाँ पुजा गरेमा इच्छित वर प्राप्त हुने जनविश्वास छ । यहाँको तातोपानीमा नुहाएमा छाला र हड्डी सम्बन्धी रोगहरु निको हुने गरेको स्थानीयको अनुभव छ ।  
‘तपोवन धार्मिक हिसावले मात्र नभएर प्राकृतिक उपचारका लागि पनि महत्वपूर्ण ठाउँ हो,’ जिसस प्रमुख खड्गबहादुर खड्काले भने, ‘यसको व्यवस्थापन र प्रचार प्रसार गर्न सके जिल्लामा पर्यटक आगमन बढ्ने निश्चित छ ।’
उनले तपोवन क्षेत्र विकास कार्यक्रमलाई गाउँपालिकाले गौरवको योजना बनाउनु जरुरी रहेको बताए । 
सेती नदी किनारमा रहेका तातोपानीका मुहानहरु नदी कटानका कारण जोखिममा परेपछि संरक्षणका लागि गाउँपालिकाले पहल थालेको तल्कोट गाउँपालिका–१ का वडा अध्यक्ष गोपाल धामीले बताए । नदी किनारमा तटबन्ध गर्ने, सोलार लिफ्टिङबाट तातोपानी माथि तानेर सहजै नुहाउन र पौडी खेल्न मिल्ने पोखरी र धारा बनाउने, तपोवन क्षेत्रलाई घेरबार गर्ने लगायतका निर्णयहरु कार्यपालिकाको बैठकले गरेको उनले जानकारी दिए ।
यस्तै यस क्षेत्रलाई रक गार्डेनको रुपमा विकास गर्नका लागि आर्किटेक्ट इन्जिनियरबाट डिजाइन बनाउन लगाउने र भाट गाउँदेखि तातोपानीका मुहानसम्म रेलिङ्गसहितको पैदल बाटो बनाउने निर्णय गाउँपालिकाले गरेको छ । 
धार्मिक र पर्यटकीय सम्भावना भएर पनि बेवारिसेजस्तै बनेको यो क्षेत्रलाई अर्काे वर्षबाट आकर्षक गन्तव्यको रुपमा विकास गरिने गाउँपालिका अध्यक्ष लालबहादुर बिस्टले बताए । ‘तपोवन हेर्न कै लागि भनेर मान्छे आउने खालको संरचनाहरु विकास गर्दैछौं,’ उनले भने, ‘एक वर्षभित्र जिल्ला कै बढी पर्यटक पुग्ने ठाउँको रुपमा तपोवन क्षेत्र विकास हुनेछ ।’
उनले यहाँ रात बिताउन चाहनेका लागि पाहुना घर निर्माण गरिने बताए । योग, ध्यान जस्ता गतिविधि गर्न मिल्ने खालका संरचनाहरु तयार गर्न लागेको उनको भनाइ छ ।
सदरमुकाम चैनपुरबाट आधा घण्टाको दुरीमा पर्ने यो क्षेत्रमा वर्षेनि ५० हजार पर्यटक भित्र्याउने गाउँपालिकाको लक्ष्य रहेको उनले बताए ।
तपोवन क्षेत्रको विकासका लागि सुझाव संकलन गर्न छिमेकी स्थानीय तहका जनप्रतिनिधि, जिल्लास्थित विभिन्न सरकारी कार्यलयका प्रमुख, पत्रकार र सरोकारवालालाई पनि आमन्त्रितको रुपमा बैठकमा बोलाइ सुझाव संकलन गरिएको अध्यक्ष बिस्टले बताए । यस क्षेत्रमा आवश्यक पुर्वाधार निर्माणका लागि गाउँपालिकाले ५० लाख रकम विनियोजन गरेको छ । इमेजखबरमा समाचार छ ।