पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधनप्रति राजनीतिक बृत्तबाट दुःख प्रकट

news
पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधनप्रति राजनीतिक बृत्तले दुःख प्रकट गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीदेखि लिएर प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतले गिरीको निधनप्रति दुःख प्रकट गरेका छन् । उनीहरुले ट्वीटरमार्फत गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदानको स्मरण गरेका छन् ।
प्रधानमन्त्री ओलीले ट्वीट गर्दै भनेका छन्, ‘पूर्वप्रधानमन्त्री तुलसी गिरीको निधन भएको खबरले मलाई दुःख लागेको छ । यस घडीमा स्वर्गीय गिरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दछु ।’ इमेजखबरमा समाचार छ । 

त्यस्तै पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ट्वीट गर्दै भनेका छन्, ‘पूर्वप्रधानमन्त्री तुलसी गिरीजीको निधनको खबरले दुःखी भएको छु । स्वर्गीय गिरीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु ।’

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्वीट गर्दै लेखेका छन्, ‘पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधनमा वहाँप्रति हार्दिक श्रद्धाञ्जली र आफन्तजनमा गहिरो समवेदना । फरक राजनीतिक धारमा उभिए पनि वहाँ एक विशिष्ठ प्रतिभा हुनुहुन्थ्यो । संसार विपरीतहरुको एकत्व हो । विपरीत प्रवर्गको अस्तित्व स्वीकार्नु प्रवोधन हो । सबैले मनन् गरौं ।’