सालझण्डी–सन्धिखर्क ढोरपाटन सडक निर्माणमा जनप्रतिनिधी र कर्मचारहिरुको बेग्लाबेग्लै तर्क

Image result for सन्धिखर्क ढोरपाटन

– मुक्तिनाथ भुसाल
 अर्घाखाँची । पर्यटकीय र धार्मिक महत्व बोकेको सालझण्डी–सन्धिखर्क ढोरपाटन सडकको प्रारम्भिक खण्ड किन अलपत्र पारियो भन्ने विषय यतिबेला चर्चामा छ । भविष्यमा उत्तर छिमेकी चीनको सीमासम्म जोड्ने सोचका साथ एक दशक अघिदेखि काम शुरु गरिएको सडकको निर्माण कार्य कछुवा गतिमा अगाडि बढ्दा सडक उपभोग गर्नबाट स्थानीय बञ्चित बनेका छन् ।
महेन्द्र राजमार्गको रुपन्देहीस्थित सालझण्डी चोकदेखि ४ किलोमिटर सडक ठिकै जस्तो देखिए पनि पाल्पाको कञ्चनखोलादेखि अर्घाखाँचीको निहालीसम्मको सडकलाई निर्माण नगरिएको कारण ढोरपाटन सडकको शोभा नै बिग्रिएको छ । प्रोगेस रिपोर्ट फाइलमा संलग्न गर्नका लागि निहालीदेखि सन्धिखर्कसम्मको सडक ग्राभेल र विहारमा कालोपत्रे गरिएको भए पनि ढोरपाटन सडकको प्रवेशद्वार नै वर्षौंदेखि अलपत्र पारिनुमा सडकमाथि प्रत्यक्ष–परोक्ष षडयन्त्र भइरहेको अनुमान गर्न थालिएको छ ।
सडकको शुरुको खण्ड कन्चनदेखि ढुंग्रीखोलासम्मको १८ किलोमिटर खण्ड ह्युमपाइप, मोडसुधार, कच्ची नाली निर्माण र ग्राभेलका लागि ०७१ पुस २४ गते बिटी जयबाबा जेभी स्वयम्भू ९काठमाडौं०सँग ०७२ माघ १ भित्र कार्य सम्पन्न गर्ने शर्तमा सम्झौता गरिएको भए पनि हालसम्म ६ किलोमिटर सडक मात्रै ग्राभेल सम्पन्न भएको छ ।
यसैगरी ढुंग्रीखोलादेखि निहालीसम्मको करिव १७ किलोमिटर सडकको मोडसुधार, कच्चीनाली र ग्राभेल आदिका लागि ०७५ जेष्ठ २१ गते सम्झौता गरेको मोतीदान पिटिआर जेभीका प्रोपराइटर ऋषिराम अधिकारीसँग जिज्ञासा राख्दा काम गर्नका लागि आफूसँग करिव दुई वर्ष समय भएपनि स्थानीयको समस्यालाई बुझेर यसै वर्षको माघ मसान्तभित्र काम सम्पन्न गरीछाड्ने बताए ।
नेकपाको दुई तिहाई शक्तिको सरकार गठन भएसँगै ठग ठेकेदार कम्पनीहरूको सूची तयार पारेर नयाँ ढंगले विकाशका कार्यलाई अगाडि बढाउने रणनीतिअनुसार चाल्न खोजिएको कदमको प्रभाव गत जेष्ठ महिनामा अर्घाखाँचीमा पनि परेको थियो । जसअनुसार प्रजिअ खिमराज भुसालको अध्यक्षता र प्रदेशसभा सदस्य चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा करिव ५ वर्षदेखि सडक अलपत्र पारेको विटी जयबाबाका प्रतिनिधिलाई सन्धिखर्कमा झिकाएर हिरासतमा लिँदै असार २० गतेभित्र बाँकी काम सम्पन्न गर्ने लिखित सम्झौता भएको थियो । तर, त्यो सुखद सन्दर्भ लामो समय टिक्न सकेन । बुझिएअनुसार विटी जयवावालाई असोज मसान्तसम्मका लागि पुनः म्याद थपियो ।
अनुमानित रकमभन्दा अत्यन्तै न्यून बोलकवोल लिएर स्थानीयहरूको भविष्यमाथि ५ वर्षदेखि खेलबाड गर्दै आएको ठग विटी जयबाबालाई असोज मसान्तसम्म म्याद थपिए पनि हालका दिनसम्म १२ किलोमिटर सडक सम्पन्न हुन बाँकी नै छ । केही दिनअघि सदरमुकाम सन्धिखर्कमा सम्पन्न एक कार्यक्रमका अतिथि तथा जिल्लाका माननीयहरूलाई उक्त सडकको समस्याबारे प्रश्न गर्दा सडक कछुवाको गतिमा चल्नुको पछाडि कर्मचारीतन्त्रको चलखेल र ठेकेदारहरूसँगको मिलेमतो नै कारक रहेको बुझियो ।
प्रतिनिधिसभा सदस्य टोपवहादुर रायमाझी, प्रदेशसभा सदस्य चेतनारायण आचार्य र रामजीप्रसाद घिमिरेले सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजनाको अलपत्र कार्यको चर्को आलोचना गर्दै तुरुन्त ठेक्का तोडेर सडकको सम्पूर्ण बजेट सालझण्डीदेखखि निहालीसम्म खनाएर यसपालीको हिउँदमा सम्पूर्ण कार्य सम्पन्न गर्न निर्देशन दिएका थिए । तर विडम्बना १ माननीयज्यूहरूले कारवाही हुनुपर्छ भनिएको विटी जयबाबा कम्पनीका प्रोपराईटर श्यामकुमार श्रेष्ठलाई विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठले पुनः गत मंसिर मसान्तसम्मका लागि म्याद थपिदिएका र ठेक्का तोडिनुपर्छ भनी पेश गरिएको आफ्नो फाईल विभागबाट फिर्ता भएको सडक योजना प्रमुख होमबहादुर एसीले जानकारी गराएका भएपनि पौष पहिलो साता सम्म अझै ९ किलोमिटर सडक ग्राभेल हुन सकेको छैन ।
माननियहरूले यसपाली ढोरपाटन सडकमा परेको सबै बजेट निहालीदेखि सालझण्डी चोकसम्म खनाएर सडकको सबै कार्य पुरा गर्ने अठोट सम्बन्धमा केन्द्रित भई योजना प्रमुख एसीसँग जिज्ञासा राख्दा चालु आर्थिक वर्षका लागि नयाँ बजेट हालसम्म प्राप्त नभएको र गत वर्षसम्मको आयव्यय हिसाब गर्दा आफुहरूसँग २२ करोड रकम भए पनि २५ करोड दायित्व भएकाले गत वर्षको ऋण तिर्न मात्रै थप ३ करोड अपुग भएकोले आफुलाई कार्यालयमा बस्दासमेत औडाहा भएको गुनासो प्रकट गरे ।
उता रातो किताबमा लेखिएको ढोरपाटन सडकका लागि चालु आवमा २३ करोड विनियोजन भएको जिल्लाका माननीयहरूले बारम्बार बोल्ने गरिएको सुनिएको छ । यसरी जनप्रतिनिधि र योजना कार्यालय बीचमा देखिएको मतभिन्नताले सालझण्डीको कञ्चनदेखि ढुंग्रीखोलासम्मको सडकले कहिले पूर्णता पाउने ठोस बताउन सक्ने स्थिति देखिँदैन । यसअलावा अर्घाखाँचीको चिवेक खोलामा सडकको सवारी चाप धान्न सक्ने पुल निर्माण र चुत्रावेशी बजारमा करिव ५ सय मिटरको स्थानीय विवादले गच्छेखोलादेखि नै सडकको कार्य वर्षौंदेखि अलपत्र रहेको र गाँठो परेको यो समस्या समधान पनि एक चुनौतीका रूपमा रहेको छ ।

अन्य समाचारहरु