– मुक्तिनाथ भुसाल
अर्घाखाँचीको शीतगंगा नगरपालिका–९ स्थित बिसमुरेमा प्रकृतिक गुफा फेला परेसँगै चहलपलमा वृद्धि हुने क्रमले गति लिएको छ । भौगोलिक हिसाबले नेपालकै सबैभन्दा ठूलो शीतगंगा प्रसिद्ध डमरु दह, रावणले वाणबाट उत्पन्न गराएको गंगा, विशेष किसिमको शंखलगायत स्वच्छ खोलानाला तथा सखुवाको भण्डारका रूपम परिचित रहेको छ । शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात र छरिएर रहेका बस्तीहरू प्रमुख समस्या बनेको शीतगंगाभित्र चोरी, निकासी, तस्करीका अलावा बिनावस्त्रका विदेशी पर्यटकलाई धपाउन बेलाबखत प्रहरी–प्रशासनलाई समेत भ्याइनभ्याई बनेको छ ।
नगरपालिकाको वडा नम्बर ६ स्थित बुम्चीखोला र गोवान खोलावरपर करिब दुई सातादेखि नग्न अवस्थामा बसेका विदेशी पर्यटकहरूलाई स्थानीयले घाँसदाउराको क्रममा देखेपछि होहल्ला भएको थियो । जसअनुसार जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले गत कात्तिक १६ गते उक्त स्थानमा देखिएका बिनावस्त्रका पर्यटकलाई हटाउँदै त्यसमा संलग्न चारजना नेपालीलाई थुनामा लिएको थियो । जिल्लाको शीतगंगा नगरपालिका–१० हर्रेका शालिकराम पोखरेल, कलैया उपमहानगरपालिका–१ बाराका दीपेन्द्र सोनार, वाणगंगा नगरपालिका–८ कपिलवस्तुका मोतीराम गैरे र ललितपुर महानगरपालिका–१० कुपन्डोल निवासी सुशान्त पौडेललाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको च.नं. ७६३ को पत्रअनुसार कात्तिक २० गते थुनामुक्त गरिएको थियो । सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत सार्वजनिक उपद्र्याइँ गर्न नहुने भन्दै उल्लेखित चारजनालाई जनही २०–२० हजार धरौटीमा छाडिएको र मुद्दा फैसला भइनसकेको कारण पनि अन्तिम नतिजा के मिल्ने हो, प्रतीक्षा नै गर्नुपर्ने देखिन्छ ।
त्यसो त रेन्बो ट्रस्ट नामक सामाजिक सञ्जालमा आबद्ध भएका भारत, फ्रान्स, जर्मेनी, अस्ट्रेलिया, इजरायललगायतका विभिन्न मुलुकबाट करिब दुई सयजनाको सङ्ख्यामा उक्त स्थानमा आउने अनि बिनाबस्त्र रहने गरे पनि सो दिन प्रहरीबाट धपिनेमा करिब दुई दर्जन मात्रै रहेको बुझिएको छ ।
उनीहरूलाई महेन्द्र राजमार्गबाट जिल्ला छिराउँदा सामान्य ड्रेसमा थोरै–थोरै सङ्ख्यामा भित्र्याइएको जानकारी मिलेको छ । अर्थ जे–जस्तो लगाए पनि उनीहरूको नियत कुनै पनि धर्मको प्रचारप्रसार गर्ने नभई प्रकृतिसँग सामूहिक रूपमा नाङ्गै रमाउनुपर्छ भन्ने उद्देश्य राखिएको देखिए पनि हाम्रोजस्तो समाजका निम्ति यो अपाच्य भएकोमा विवाद रहन्न ।

बिनावस्त्रका मान्छेहरू आएर जरा गाडेको यो नगरपालिकाभित्र स्थानीय केशवराज अधिकारीको जमिनमा गत साता गुफा देखिएपछि आफूहरूलाई थप अनुशासनमा बस्न प्रेरित गराएको स्थानीय डम्बरसिंह आले बताउँछन् । गिरिराजलगायतका युवाहरूले नुहाउने क्रममा सानो प्वाल देखेपछि भित्र के रहेछ भन्दै जाने क्रममा गुफा फेला परेको हो । गुफा फेला परेको सुइँको पाउनासाथ हिन्दू जागरण अभियानका राष्ट्रिय अभियन्ता नारायणप्रसाद खनालको सुझावमा हिन्दू जागरण अभियानका जिल्ला उपाध्यक्ष आतिश विक र बाबुराम खत्रीसहितको एक समूह त्यहाँ पुगेको थियो । एकपटकमा १० जनासम्म भित्र पस्न सकिने उक्त गुफाभित्र गणेश, शिव, पार्वती, विभिन्न ऋषिहरूको अलावा प्रशस्तै आकर्षक शिलाहरू चम्किरहेका छन् र भित्री अवलोकनका लागि करिब दुई घन्टा समय लाग्ने अनुमानित आकलन गर्न सकिन्छ ।
स्थानीय दामोदर बेल्वासे, चेतबहादुर थापा, पूर्णबहादुर अधिकारीेसहित करिव ५० जना लामबद्ध भएर उक्त गुफातर्फ जाँदै गर्दा अब केही न केही हुने भयो भन्दै सर्वसाधारणले खुसियाली व्यक्त गरेका भए पनि यसको संरक्षण तथा प्रचारप्रसारका लागि स्थानीय सरकारले बेलैमा ध्यान दिनु उपयुक्त हुनेछ ।