फेसबूकमा स्टाटस लेख्ने सचिन पाण्डे र श्रीमान् कृष्णबहादुर सेजवाल ( बाँया)
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क । दुई साताअघि अर्घाखाँचीको डिभर्नामा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका श्रीमान् कृष्णबहादुर सेजवाललाई जिल्ला अदालत अर्घाखाँचीले र फेसबूकमा स्टाटस लेख्ने सचिन पाण्डेलाई जिल्ला प्रशासन अर्घाखाँचीले ७ दिनको म्याद थप गरी अनुसन्धानको निम्ति हिरासतमा राख्न अनुमती दिएको छ ।
सन्धिखर्क ११, डिभर्ना अमिलेकी मिना सेजवालको आफ्नै श्रीमान् कृष्णबहादुर सेजवालको निर्घात कुटपिटबाट मृत्यु भएको मृतक मिनाकी दिदी कमला भुसालको किटानी जाहेरीपछि प्रहरीले सेजवाललाई गत राती पक्राउ गरेको थियो ।
यस्तै डिभर्नाको अमिले ठाटीकी एक महिला श्रीमानको कुट्पिटबाट मृत्यु भएको विषयमा फेसबूकमा स्टाटस लेखिएको कारण क्लिन काठमाडौं अभियान, असहाय बालबालिका पुनर्थापना भबन बाजुराका उपाध्यक्ष तथा सामाजिक अभियन्ता अर्घाखाँची छत्रदेब ८ अर्घातोषका सचिन पाण्डेलाई सोधपुछको निम्ति भन्दै काठमाण्डौ प्रहरीले पक्राउ गरेको हो । पाण्डेलाई आज बिहान सन्धिखर्क ल्याइएको थियो ।
पहिलादेखि नै कुटपिट गर्दै आएको र कुटपिटबाटै उनको मृत्यु भएको माइती पक्षले आरोप लगाएका छन्। दोषीलाई कानुनी कारबाही गर्नुपर्ने माइतीपक्षको माग छ।
दुई जनाबीच पहिलेदेखिनै पटक पटक झगडा हुँदै आएको र गाँउलेहरूले मेलमिलाप गराउने गरेको स्थानीयहरूले बताएका छन्। शवको पोस्टमार्टम जिल्ला अस्पताल सन्धिखर्कमा गरेपछि अन्तिम दाह संस्कार पनि गरिसकिएको छ।
वडाध्यक्षको संलग्नता रहेको स्टाटस लेख्ने युवक पक्राउ
घटनाका दोषीलाई राजनीतिक दल तथा वडाध्यक्ष ध्रुव आचार्यको संरक्षण रहेको भनेर सामाजिक सञ्जालमा लेखेको भन्दै अर्घाखाँचीका एक युवा काठमाडौंमा पक्राउ परेका छन्।
वडाध्यक्ष आचार्यले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा आफू घटनाबारे अनभिज्ञ रहेको तर आफ्नो नाम र पद समेत जोडेर सचिन पाण्डेले सामाजिक संजालमा मानहानी भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए।
वडाध्यक्ष आचार्यले दिएको जाहेरीको आधारमा अर्घाखाँची जिल्ला छत्रदेव ८ अर्घातोषका सचिन पाण्डेलाई काठमाडौंबाट पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक गम्भीरजंग थापाले बताए।