सचिन पाण्डे (बाँया) र प्रेम खड्का । तस्बिर: फेसबूकबाट
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । दुई साताअघि अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ डिभर्नामा एक महिलाको मृत्यु भएको घटनालाई लिएर फेसबूकमा स्टाटस लेखेको आरोपमा अनुसन्धानका लागि भन्दै प्रहरी हिरासतमा रहेका समाज सेवी युवा तथा अर्घाखाँचीडट्कमका प्रतिनिधि प्रेम खड्का र छत्रदेव ८ अर्घातोषका सचिन पाण्डे धरौटीमा रिहा भएका छन् ।
मानहानी मुद्दामा पक्राउ परेका सचिन पाण्डे र प्रेम खड्का जनही २५ सय रुपैया धरौटीमा रिहा भएका हुन् । उनिहरुको मुद्दाको अनुसन्धान भैरहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ डिभर्नाको अमिले ठाटीकी मिना सेजवाल मृत्यु भएको घटनालाई लिएर वडाध्यक्ष ध्रुव आचार्यले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा आफू घटनाबारे अनभिज्ञ रहेको तर आफ्नो नाम र पद समेत जोडेर सामाजिक संजालमा मानहानी भएको भन्दै प्रहरीमा जाहेरी दिएका कारण समाज सेवी युवा तथा अर्घाखाँचीडट्कमका प्रतिनिधि प्रेम खड्कालाई आज प्रहरीले नियन्त्रणमा लिएको थियो । यस्तै घटनाका दोषीलाई राजनीतिक दल तथा वडाध्यक्ष ध्रुव आचार्यको संरक्षण रहेको भनेर सामाजिक सञ्जालमा लेखेको भन्दै क्लिन काठमाडौं अभियान, असहाय बालबालिका पुनर्थापना भबन बाजुराका उपाध्यक्ष तथा सामाजिक अभियन्ता सचिन पाण्डे काठमाडौंमा पक्राउ परेका थिए । सचिनलाई ७ दिनको म्याद थप गरी अनुसन्धानको निम्ति हिरासतमा राखिएको थियो ।
साथै यस अगाडि श्रीमान् कृष्णबहादुर सेजवालको निर्घात कुटपिटबाट मृत्यु भएको मृतक मिनाकी दिदी कमला भुसालको किटानी जाहेरीपछि प्रहरीले सेजवाललाई गत आईतबार पक्राउ गरेको थियो । पक्राउ परेका श्रीमान् कृष्णबहादुर सेजवाललाई जिल्ला अदालत अर्घाखाँचीले ७ दिनको म्याद थप गरी अनुसन्धानको निम्ति हिरासतमा राख्न अनुमती दिएको छ ।
मिना सेजवालको गत मङ्सिर २४ गते उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा निधन भएको थियो ।