ढिकुरामा बच्चा खाने चितुवाको डीएनए मिल्यो


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका  –९ ढिकुरा स्थित पियाले जंगलमा पासोमा परी मरेको नरभक्षी चितुवाको डीएनए मिलेको छ । 
गत कार्तिकमा ढिकुराका माधब प्रसाद घिमिरे ( मदन ) का ४ वर्षीय आर्यन घिमिरेको ज्यान ल्याएको चितुवाको डीएनए घिमिरेसँग मिलेको हो । 
आर्यन घिमिरेको चितुवाको आक्रमणबाट ज्यान गएपछि घटनापछि हतियारसहित सुरक्षाकर्मी र स्थानीयले जंगलमा खोजी गरेका थिए । सुरक्षाकर्मी र स्थानीयले पियाले जंगलमा पासो थापेका थिए । पासोमा परेको चितुवालाई प्रहरी र वनका कर्मचारी आइनपुग्दै आक्रोशित स्थानीयले फलामे पासोभित्र घरेलु हतियार र लाठी छिराएर घाइते बनाएका थिए । लगत्तै चितुवा मरेको थियो । 
डिभिजन वन कार्यालयले चितुवाको र्‍याल, रगत, दिसा आणविक गतिशीलताका लागि केन्द्र काठमाडौंमा पठाएको थियो । पियाले जंगलमा पासोमा परी मरेको चितुवाको डिएनए परीक्षण घिमिरेसंग मिलेकाले नरभक्षी चितुवा त्यही रहेको आणुवांशिक गतिशिलन केन्द्रका बायोइन्फरमेटिक्स इन्सेसियालिष्ट प्रज्वल मानन्धरले अर्घाखाँचीडट्कमलाई बताए ।  
५ वर्षको अवधिमा ढिकुरा, नुवाकोट, किमडाँडा, सन्धिखर्क, खाँचीकोट र कुर गाउँमा १० वर्षमुनिका १४ बालबालिकाको चितुवाको आक्रमणबाट ज्यान गइसकेको छ । ८ जना घाइते भएका थिए । किमडाँडामा २ वर्षअघि पनि चितुवा पासो (खोर) मा परेको थियो । यसपालि पासोमा परेको चितुवा नरभक्षी हो/होइन पत्ता लगाउन डीएनए परीक्षण गर्न लागिएको थियो । 
वन मन्त्रालय, वन विभाग र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा चितुवाको डीएनए परीक्षण गर्ने उपकरण नभएपछि आणविक केन्द्रमा पठाइएको थियो । 

अन्य समाचारहरु