प्रेम नारायण आचार्य
सन्धिखर्क – अर्घाखाँचीमा गएको वर्षमा पाँच सय ८६ जनाले गर्भपतन गराएका छन ।
जिल्ला अस्पताल तथा मेरी स्टोप्स सेन्टरमा गएर पाँच सय ८६ जनाले सुरक्षित गर्भपतन गराएको जिल्ला जनस्वास्थ्य कार्यलयका निरीक्षक गणेशराज पौडेलले बताउनुभयो । परिवार नियोजनका अस्थायी साधन प्रयोगकर्ताहरुको संख्या बढेको एक तथ्यांकले देखाएको छ ।
सरकारले असुरक्षित यौन सम्पर्कबाट हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न नागरिक सचेतनासँगै निःशुल्क अस्थायी साधन उपलब्ध गराउन थालेपछि प्रयोगकर्ताहरुको संख्यामा बृद्धि हुंदै गएको तथ्यांकले देखाएको हो ।
सुरक्षित गर्भपतनको क्षेत्रमा काम गरिरहेको सुनौलो परिवार नेपाल, मेरी स्टोप्स नेपाल अर्घाखाँचीले प्रदान गरेको सेवा तथ्यांकले यस्तो देखाएको हो । मेरी स्टोप्स नेपाल अर्घाखाँची शाखाले सन्धिखर्कमा पत्रकार सम्मेलनमार्फत यस्तो तथ्यांक सार्वजनिक गरेको हो । शाखा प्रमुख दिपक शर्माले गोप्यताको साथमा सुरक्षित सेवा प्रदान गरिरहेको भन्दै ढुक्क भएर सेवा लिन आग्रह गर्नुभएको छ ।
शाखा प्रमुख शर्माले सन् २०१७ मा चार सय पाँच जना र २०१८ मा तीन सय ४१ जनाले सुरक्षित गर्भपतन गराएको, दुवै वर्षमा तीन सय १ जनाले आईयूडीसी,२ सय ३ जनाले इमप्लान्टको सुविधा लिएको जानकारी गराउनु भएको छ ।
झण्डै आठ वर्षअघि स्थापना भएको सुनौलो परीवार नेपाल मेरी स्टोप्स सेन्टर अर्घाखाँचीले १२ हप्तासम्मको सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन सेवा, पाठेघरको मुखको क्यान्सर जाँच सेवा, परिवार नियोजनका अस्थायी साधन वितरण सेवा र जनरल स्वास्थ्य परीक्षण सेवा प्रदान गर्दै आएको जानकारी दिनुभएको छ ।
‘सन्तान कहरले होइन, रहरले जन्माऔं’ भन्ने मुल नाराका साथ नेपालमा सन १९९३ मा स्थापित यस संस्थाले अहिलेसम्म विभिन्न ३६ वटा शाखामार्फत प्रजनन स्वास्थ्य सम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।