अर्घाखाँचीडट्कम संवाददाता
धारापानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं ४ धारापानीमा रहेको शान्ती माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले आफुले पढेको विद्यालयका लागि शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् ।
२०६० सालको एस।एल।सी व्याचका पूर्व विद्यार्थीहरुले विद्यालयमा अत्यावश्यक रहेको आधुनिक प्रिन्टर मेसिन सहयोग गरेका हुन् ।
विद्यालयमा आज आयोजना गरिएको विशेष समारोहका विच विद्यालयलाई प्रिन्टर हस्तान्तरण गरिएको हो । कार्यक्रममा मन्तव्य राख्दै वडा अध्यक्ष बाबुराम पन्थीले ६० सालका विद्यार्थीहरुको रचनात्मक प्रयासले आफुहरु खुसी भएको बताउदै यो कुरा अन्य विद्यार्थीहरुको लागि समेत प्ररणा बन्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सहयोगी विद्यार्थीहरुको तर्फबाट मन्तव्य राख्दै पूर्व विद्यार्थी हरिप्रसाद भुसालले आफुले अध्ययन गरेको विद्यालयलाई आवश्यक सहयोग गर्नु आफुहरुको धर्म र दायित्व रहेको बताउदै आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा सहयोगदाताहरुको तर्फबाट हरिप्रसाद भुसाल, बिमला केसी, यमकला बस्नेत, श्रृजना केसी र हिम बहादुर रेस्मीलाई विद्यालयले सम्मान पत्र सहित विशेष सम्मान गरेको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डिलाराम पन्थी, शिक्षक जगत केसी, स्थानीय अगुवा खिम बहादुर केसी लगायतले मन्तव्य राख्दै विद्यालय छोडेको १५ वर्षपछि पनि विद्यार्थीहरुबाट पाएको मायाले आफुहरु उत्साहित भएको वताएका थिए । कार्यक्रम विद्यालयका शिक्षक विरेन्द्र पौडेलको स्वागत मन्तव्य, व्यवस्थापन समिति अध्यक्ष झविलाल थापाको अध्यक्षता र विद्यालयका शिक्षक कृष्ण प्रसाद बन्जाडेको संचालनमा सम्पन्न भएको हो ।