मालारानी २ का बेपत्ता वडाध्यक्ष खोजी गर्न जंगल सर्च अभियान

कृष्ण खनाल 
मालारानी । अर्घाखाँची स्थित मालारानी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष विष्णु प्रसाद भुषाल (विनोद) एकाएक वेपत्ता भएको बिहीबार १८ दिन पुगेको छ ।
आफन्तले पत्रकार सम्मेलनमा स्थानीय प्रशासन, गाउँपालिकाले वेपत्ता वडा अध्यक्षको खोजीमा कुनै चासो नदेखाएको गुनासो गरेपछि मालारानी गाउँपालिकाले यसमा चासो देखाएको छ ।  मलारानी गाँउपालिका अर्घाखाँचीका वडाध्यक्ष बालकृष्ण आचार्यले वेपत्ता वडाध्यक्षको खोजी कार्यमा गाउँपालिकाले चासो नदेखाएको आरोपमा सत्यता बताए ।
 
आचार्यका अनुसार वडाध्यक्ष वेपत्ता भएपछि उनको खोजीका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतका निकायहरुसँग गाउँपालिकाले समन्वय गरिरहेको दवी गरे । जिल्ला प्रहरी कर्यालयमा निवेदन गाउँपालिकाको नेतृत्वमा दर्ता गरिएको उनले दावी गरे ।
वेपत्ता भएको १८ औं दिन गाउँपालिकाले छिमेकी जिल्लाहरु गुल्मी, पाल्पा, अर्घाखाँची,  कपिलवस्तु, प्युठानमा टोली बनाएर खोजी कार्य गरेको उनले जानकारी दिए । यस्तै गाउँपालिकाका अध्यक्ष आचार्यको निर्देशनमा प्रहरी, स्थानीयत तथा सरोकारवाला समेत गरी करिब ३० जनाको टोलीले अर्घाखाँचीस्थित पत्थरकोटको जंगल, गोरुसिङ्गे (कपिलवस्तु)को जंगलमा खोजी कार्य जारी राखिएको पनि जानकारी दिइएको छ ।
आचार्यले भने, ‘हामीले खोजी कार्य निरन्तर जारी राखेका छौं,’ आचार्यले भने, ‘जिल्ला-जिल्लामा खोजी अभियान टोली खटिएको छ भने पत्थरकोट, गोरुसिंङ्गे क्षेत्रको जंगलमा पनि खोजीको लागि प्रहरी सहितको टोली परिचालन गरेका छौं ।’
गत पुस २ गते मालारानी गाउँपालिकाबाट सरकारी सावारी साधनमा सदरमुकाम सन्धीखर्क आएका उनी सोही दिनदेखि वेपत्ता भएका हुन् । पुस २ गतेदेखि हराएका वडाध्यक्षको खोजीमा स्थानीय प्रशासन तथा गाउँपालिकाले चासो नदेखाएको भन्दै आफन्तहरुले गुनासो गरेका थिए ।
गत पुस २ गते घरबाट वडा कार्यालयतर्फ हिँडेका उनी सन्धीखर्क आएको भाई जीवलाल भुषालले बताए । सन्धीखर्क आएका उनी गुन्टेखोलामा रहेको यमहा (यमाहा मोटरसाइकल­)को सोरुममा मोटरसाईकल मर्मत गरिदनु भन्दै त्यहीँ छोडेर गोरुसिंङ्गे (कपिलवस्तु) गएर आउछु भन्दै सार्वजनिक बस चढेर हिडेको बताइएइको छ ।
यसरी हिडेका उनको मोबाइल सोही बसमा भेटिए पनि उनी वेपत्ता भएका छन् । बसमा मोबाइल छोडेको भेटिएपछि बस चालकले आफन्तलाई फोन गरी उक्त मोबाइल फिर्ता दिएका छन् ।
आफन्तहरुले गत पुस ४ गते नै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा खोजीका लागि निवेदन दिएका थिए । यस्तै गत पुस १० गते आफन्तले अर्घाखाँचीमा पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए ।
भुषालका साना बुबा यदुनाथ पाण्डेका अनुसार भुषाल स्थानीय तहको निर्वाचनमा नेकपा एमालेमा प्रवेश गरेका थिए । उनले एमालेबाट वडाध्यक्षको उमेद्वार भई चुनाव जितेका हुन् ।
साना बुबा पाण्डेका अनुसार मालारानी-१ भुषालको फर्निचर व्यवसाय पनि छ । ४१ वर्षीय भुषालका एक छोरी, एक छोरा र श्रीमती छन् । गाउँमा कसैसँग पनि उनको मनमुटाव अथवा झै झगडा नभएको आफन्तको भनाइ छ । आफन्तले छिटो भन्दा छिटो खोजीका लागि प्रशासन समक्ष माग गरेका छन् ।
यता, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक भने प्रहरी परिचालन गरी खोजी कार्य अगाडि बढाएको बताउँछन् । उनले यस विषयमा अहिले नै ठोस केही प्रमाण नभेटिएकाले केही भन्न नमिल्ने बताए । वडाध्यक्ष भुसालले चलाउने मोबाइल बसमा खसालेकोले बस चालकमार्फत मोबाइल घरमा आइसकेको छ ।

अन्य समाचारहरु