लमजुङमा भूकम्पपीडितको लाभग्राही सूचीमा परे पनि अनुदान सम्झौता गर्न नआउनेको खोजी

news
  लमजुङमा भूकम्पपीडितको लाभग्राही सूचीमा परे पनि अनुदान सम्झौता गर्न नआउनेको खोजी गर्न थालिएको छ ।
निजी आवास पुनर्निर्माण कार्यक्रम सुरु भएको डेढ वर्ष बितिसक्दा पनि पहिलो किस्ताकै रकम लिन नआउनेहरुको खोजी गर्न थालिएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुदान व्यवस्थापन गर्ने जिल्ला आयोजना कार्यान्वयन इकाइ लमजुङले अनुदान सम्झौता गर्न नआउने लाभग्राहीको खोजी सुरु गरेको हो ।
सम्झौता गर्नेबित्तिकै घर बनाउन पहिलो किस्ताबापत ५० हजार रुपैयाँ पाइने व्यवस्था छ ।
जिल्ला आयोजना कार्यान्वयन इकाइका फोकल पर्सन शिव रेग्मीले लाभग्राही सूचीमा परेर पनि सम्झौता गर्न नआउने लाभग्राहीको अवस्थाबारे जानकारी दिन स्थानीय तहलाई पत्राचार गरिएको बताए ।
कार्यालयका अनुसार लमजुङमा निजी आवास पुनर्निर्माणका लागि लाभग्राही सूचीमा १३ हजार ९ सय ५९ जना छन् ।
प्रबलीकरण सूचीमा परेका ५ सय ३९ मध्ये २ सय ९८ जनाले पहिलो किस्ताको ५० हजार रुपैयाँ लगेको इकाइले जनाएको छ ।
लाभग्राहीमा परेका मध्ये करिब ४ सय ३० जनाले भने पहिलो किस्ताबापतको अनुदान सम्झौता गरेका छैनन् ।
लाभग्राही सूचीमा नपरेको भन्दै ६ हजारभन्दा बढीले गुनासो फारम भरेका छन् ।  इमेजखबरमा समाचार छ ।