प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क – १ कुडुले फाटमा भाेलि देखि शुरु हुने चाैथाे अर्घाखाँची महोत्सवको तयारी पुरा भएको छ ।
भोली पौष २७ गते शुक्रवार विहान ११ बजे चौथो अर्घाखाँची महोत्सवको भव्य समारोहबिच उद्धघाटन कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले गर्नेछन् । चाैथाे अर्घाखाँची महोत्सवको तयारी पुरा भएको आयोजक अर्घाखाँची उद्योग वाणिज्य संघले बताएको छ ।
महोत्सवमा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले पिङ्ग, डुङ्गा, ब्रेक डान्स लगायत बालबालिकाको मनोरञ्जनका सामग्रीहरु ल्याईएको छ । मेलालाई रोचक र आकर्षक बनाउन दैनिक राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती पनी रहनेछ ।
स्टलहरु २५० देखि ३०० को बिचमा राखिएको छ । अर्घाखाँचीमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उदेश्यले अर्घाखाँची महोत्सव हुँदैछ । अर्घाखाँची जिल्लालाई ब्यवसायिक पर्यटकिय हिसाबले देश विदेशमा चिनाउन जिल्लामा स्थापित भएका घरेलु तथा कृषिबाट उत्पादित बस्तुहरुको प्रर्बद्धन गर्नको लागि महोत्सवको आयोजना गर्न लागीएको हो । महोत्सवमा जिल्लाका स्थानीय उत्पादन, कोदो, फापर र मकैका परिकार, परम्परागत तेल पेल्ने कोल, ढिकी, जातो, सेनाका आर्ट प्रर्दशनी लगायत जिल्लाको सुन्तला, ढाकाका उत्पादन , जिल्लाको अर्गानीक कफी प्रमुख आकर्षणको रुपमा रहका छन् ।
उद्धाटनको दिन भोली जिल्लाका विभिन्न झाकीहरु प्रस्तुत हुनेछन । भैरव नाच, मारुनी नाच, मयुर नाच, सोरोठी नाच संगसंगै विभिन्न जातजातीका भेषभुसा सहितका झाकीहरु प्रस्तुत हुने आयोजकले बताएको छ । यस्तै स्थानीय उत्पादन संगसंगै वाल उद्यान, झुला, पिंग तथा दैनिक रुपमा राष्ट्रिय कलाकरहरुको बजोड प्रस्तुती रहने छ ।