प्रदेश नम्बर १ मा संसद् अधिवेशन सुरु नहुँदा सांसदहरु फुर्सदिला बने

news
प्रदेश नम्बर १ मा संसद् अधिवेशन सुरु नहुँदा सांसदहरु फुर्सदिला बनेका छन् । वर्षे अधिवेशन अन्त्य भएको ३ महिना बितिसक्दा पनि अर्को अधिवेशन सुरु नहुँदा स्थायी राजधानी र प्रदेश नामाकरणको विषय टुंगोमा पुग्न सकेको छैन ।
मुख्यमन्त्री शेरधन राईले मंसिरको पहिलो सातामै अर्को अधिवेशन सुरु हुने बताए पनि त्यो हुन सकेन । त्यसपछि पुसको पहिलो सातालाई सारिएको म्याद पनि गुज्रिसकेको छ ।
संसदबाट गर्नुपर्ने कामहरुमध्ये प्रदेशको राजधानी, नामाकरण टुंग्याउने विषय र कानुन निर्माणका कामहरु अलपत्रजस्तै छन् ।
प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका सचेतक सूर्यराज राई पूर्वसहमति अनसार अधिवेशन बोलाउन आफूहरुले माग गरे पनि प्रदेश सरकारले आलटाल गर्दै आएको बताउँछन् ।
अर्कोतिर अधिवेशन चालु नहुँदा सरकारका काम कारबाहीको बारेमा टिकाटिप्पणी हुन सकेको पनि छैन भने सांसदहरु पनि फुर्सदिला बनेका छन् ।
संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता जयराम यादव भने प्रदेशको नामाकरण र राजधानीको विषयमा ठोस प्रस्ताव बनाउन नसक्दा अधिवेशनमा विलम्ब भएको बताउँछन् ।
यता मुख्यमन्त्री शेरधन राई अधिवेशनको विषयमा गृहकार्य भइरहेकाले छिट्टै बैठक आह्वान गरिने दाबी गर्छन् । इमेजखबरमा समाचार छ ।