प्रदेश नम्बर–२ मा सचिवमाथि भएको कुटपिटको घटनामा छानबिन सुरु

news
प्रदेश नम्बर–२ सरकारले सचिव विद्यानाथ झामाथि भएको कुटपिटको घटनामा छानबिन सुरु गरेको छ ।
सचिव झाले आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आफूलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेको आरोप लगाएपछि प्रदेश सरकारले छानबिन प्रक्रिया अघि बढाएको हो ।
प्रदेश सरकारका प्रमुखसचिव दीपक सुवेदीले घटनाबारे मन्त्री यादव र सचिव झाले मुख्यमन्त्रीलाई ‘ब्रिफिङ’ गरेको र त्यसलगत्तै छानबिन समिति गठन गरिएको बताए ।
आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव संयोजक रहेको तीन सदस्यीय समितिलाई ७ दिनभित्र सत्यतथ्य बुझेर प्रतिवेदन बुझाउन समयसीमा दिइएको छ ।
टोलीका सदस्यमा प्रमुखसचिव सुवेदी र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव हरि फुँयाल छन् ।
छानबिन समितिका सदस्य प्रमुखसचिव सुवेदीले घटनाबारे दुवैपक्ष र घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरुसित बुझ्ने काम मंगलबारबाट सुरु गरेको जानकारी दिए ।
आफूले भनेअनुकूलको एनजीओमा कार्यक्रम नपार्दा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आइतबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका थिए । इमेजखबरमा समाचार छ ।