उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन तयार, १० वर्षभित्र निजी विद्यालयलाई सार्वजनिक शैक्षिक गुठीभित्र राख्न सुझाव

news
शिक्षा मन्त्रालयले गत भदौ १६ गते गठन गरेको उच्चस्तरीय शिक्षा आयोगले मंगलबार सरकारलाई प्रतिवेदन बुझाउने भएको छ ।
आयोगले मंगलबार राष्ट्रियसभागृहमा कार्यक्रम गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
प्राथमिक शिक्षादेखि उच्च शिक्षासम्बन्धी सुझाव पेस गर्न शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन भएको आयोगमा शिक्षाविद्, निजी विद्यालयका सन्चालक, शिक्षक, पूर्वशिक्षामन्त्री, विश्वविद्यालयका डीन गरी २५ जना सदस्य रहेका छन् ।
आयोगले मंगलबार सरकारलाई बुझाउने प्रतिवेदनमा यसअघिको आयोगले तयार पारेको प्रतिवेदनभन्दा केही कुरामामात्र फेरबदल गरेको छ ।
निजी विद्यालयहरुलाई नियमन गर्ने, शुल्क तोक्नेलगायतका काम सरकारले गर्ने भनेर मस्यौदामा उल्लेख गरिएको थियो । अब भने १० वर्षभित्र निजी विद्यालयलाई सार्वजनिक शैक्षिक गुठीभित्र राख्न सुझाव दिइएको छ ।
यस्तै, १२ कक्षापछिमात्र प्राविधिक शिक्षा पढ्न पाउने सुझावलाई हाल परिवर्तन गरी १० कक्षा पास भएपछि नै प्राविधिक विषय पढ्न पाउने सुझाव दिइएको छ ।
पूर्वीय चिन्तन ज्ञानसम्बन्धी विषयलाई प्राथमिकता दिनुपर्ने, विश्वविद्यालय अनुदान आयोगलाई बलियो बनाउनुपर्नेलगायतका विषयलाई फेलबदल गरी सुझाव तयार पारिएको आयोगका सदस्य शिक्षाविद् डा. विद्यानाथ कोइरालाले जानकारी दिए । इमेजखबरमा समाचार छ ।