गोपालप्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची ३ माघ । अर्घाखाँची जिल्लाको किमडाँडालाई दुग्ध पकेट क्षेत्र बनाएर अगाडि बढ्न स्थानिय किसानलाई सरोकारवालाले आग्रह गरेका छन् ।
किमडाँडा साना किसान कृषि सहकारी संस्था सन्धिखर्क–८ ले सम्पन्न गरेको दुग्ध उत्पादन तथा बजारीकरण उप आयोजनाको अन्तिम सार्वजनिक सुनुवाई कार्यक्रमका वक्ताहरुले यस्तो आग्रह गरेका हुन् ।
मुलुकले लिएको आर्थिक समृद्धिको संकल्पलाई पुरा गर्ने मुख्य आधार नै कृषि भएकोले व्यावसायिक कृषिको निम्ती पकेट क्षेत्र बनाउनुपर्नेमा उनिहरुको जोड रहेको छ ।संस्थाकी अध्यक्ष कमला वन्जाडेको अध्यक्षता, कमला वन्जाडेको स्वागत मन्तव्य र शिला भुसालको संचालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाल, सन्धिखर्क–८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसाल,भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रतिनिधि योगेन्द्र मरासिनी,केयुविके प्रतिनिधि राधा नेपाली र पत्रकार प्रेम आचार्यले मन्तव्य राख्दै यस्तो जोड दिए ।
सन्धिखर्क–८ का वडा सदस्यहरु,सहकारीका सेयर सदस्यहरु,स्थानिय वुद्धिजिवी समाजसेवीको उल्लेख्य सहभागितामा सम्पन्न कार्यक्रममा संस्थाको तर्फवाट तुलसा वन्जाडेले २९ लाख ६७ हजार ९ सय २९ रुपैंया वरावरको लागतमा भएका उपलव्धि समेटिएको प्रगति प्रतिवेदन प्रस्तुत गरे ।
जस अनुसार किसानका लागि उन्नत विउ विजन कार्यक्रमको १४ लाख ५२ हजार ७ सय ९२ रुपैंया अनुदान र १५ लाख १५ हजार १ सय ३७ रुपैंया कृषकको लगानीमा भकारो सुधार,खानेपानी ट्यांकी निर्माण,कुंडो खुवाउने भांडा,घांसको नर्सरी स्थापना,उन्नत नस्लको उपयोग,स्वास्थ्य प्राविधिको क्षमता विकास,दुग्ध व्यवस्थापनका औजार,उपकरण खरिद एव्म प्रयोग गरि व्यावसायिक रुपमा गाई भैंसी पाल्ने कामको थालनी भएको छ ।