अर्थोडक्स चियाले बजार नपाएपछि भोजपुुरका किसानहरु चिन्तित छन् । निकै मिहिनेतका साथ राम्रो आम्दानी गर्ने आशामा लगाएको चियाको बजार शून्यप्रायः हुँदा किसान यस पेशाबाट पलायन हुन थालेका छन् ।
करिब ८ वर्षअघि भोजपुर नगरपालिका १०, भैंसीपंखा, खुरिलाका २७ घरपरिवारले इलामबाट चियाका बोट किनेर व्यावसायिक चियाखेती सुरु गरे । ठुलो बजार पाउने आशामा चियाखेतीमा होमिएका उनीहरुले आ–आफ्ना जग्गामा चिया खेती विस्तार गरे । करिब साढे ३ वर्षपछि निकै परिश्रमपूर्वक तयारी गरेको अर्थोडक्स अर्थात् हाते चिया बजारमा ल्याउँदा बिक्री नभएपछि उनीहरुको सपना चकनाचुर त भयो नै, साथसाथै त्यतिञ्जेलको मिहिनेत र लगानी पनि बालुवामा पानी खन्याएसरह नै भयो ।
चियाले राम्रै बजार पाउने आशाले चियाखेतीको होडबाजीमा लागेका किसान यतिबेला चियाखेतीबाट पलायन बन्नुपर्ने बाध्यतामा छन् ।
बजारमा मूल्य नभएकाले गाउँघरका छरछिमेक, आफन्तजनलाई दिने पाहुनालाई कोसेलीको गर्जो टार्ने माध्यम बनेको छ । पहिले २७ परिवारले चियाखेती गरेपनि अहिले खुरिलाका ९ घरले मात्र ३२ रोपनी क्षेत्रमा चियाको हेरचाह गरेका छन् । दातृ निकायको सहयोगमा उत्पादन गरिएको अर्थोडक्स चियाको बजार व्यवस्थापन गरिदिए चियाखेतीमा टेवा मिल्ने स्थानीय दुर्गाबहादुर कार्कीको धारणा छ ।
हातले चियाको मुना टिपेर करिब दुईदिन जति घाममा सुकाउने र नरम बनाइ माड्ने, त्यसपछि फेरि सुकाएर गुम्स्याएपछि यो खानका लागि तयार हुने गर्दछ । स्वास्थ्यका लागि समेत हितकर यस चियाको उत्पादनलाई प्रोत्साहन गर्न सके कृषकहरुलाई आकर्षित गर्न सकिने थियो । इमेजखबरमा समाचार छ ।