अर्घाखाँचीमा पछिल्लो समय मधुमेह, प्रेसर रोग लगायतका नसर्ने रोगको प्रकोप बढ्दै, सचेत हुन डाक्टरको सुझाव

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची ।  पछिल्लो समय नसर्ने रोगको प्रकोप बढ्दै गएकोले सचेत हुनुपर्नेमा डाक्टरहरुले सुझाव दिएका छन् ।
 मधुमेह र प्रेसर रोगका विरामीलाई मध्यनजर गरि सन्धिखर्कमा संचालित लुहेस्को लिमिटेडले आयोजना गरेको एकदिने सचेतीकरण कार्यक्रमका सहभागीलाई प्रशिक्षण दिने डाक्टरहरुले यस्तो सुझाव दिएका हुन् । 
अत्यन्तै टाउको दुख्ने,रिङ्गटा लाग्ने,नाकबाट रगत बग्ने,छाती दुख्ने र दृष्टि धमिलो देखिने जस्ता लक्षण उच्च रक्तचापमा हुन सक्ने भन्दै यस्तो समस्या देखिएमा समयमै स्वास्थ्य जांच गराउन डाक्टरहरुले सुझाव दिएका छन् । दुइ सिफ्टमा विभाजन गरेर संचालन गरिएको सचेतीकरण कार्यक्रममा जिल्लाका झन्डै १ सय जना सम्वन्धित व्यक्तिले सहभागिता जनाएको आयोजक संस्थाले जनाएको छ । 
संस्थाका अध्यक्ष कृष्ण प्रसाद बन्जाडेको अध्यक्षता, पूर्व अध्यक्ष तिलक मिश्रको विषय प्रवेश र संगिता बेल्बासेको संचालनमा सम्पन्न कार्यक्रमको उद्घाटन गर्दै जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डाक्टर जगन्नाथ तिवारीले दैनिक एक्ससाइज,सरसफाई र खानपानमा ध्यान दिन सकेपनि मानिस स्वस्थ रहन धेरै मद्धत गर्ने बताउनुभएको छ ।
कार्यक्रममा डा.संगम शाक्य र डा.सन्तोष खरेलले सहजीकरण गर्दै सुगर र प्रेसर रोगका लक्षण,रोकथामका उपाय,उपचार पद्धति जस्ता विषयमा प्रकाश पार्नुभएको आयोजक लुहेस्को लिमिटेडका अध्यक्ष बन्जाडेले जानकारी दिनुभएको छ ।

अन्य समाचारहरु