डिभर्नामा १६५ किलो तौल भएको बोका

प्रेम आचार्य 
सन्धिखर्क । एउटै बोका एक सय ६५ केजीको भन्दा पत्यार नलाग्न सक्छ। तर अर्घाखाँचीका किसानले पालन गरेको बोकाको तौल एक सय ६५ किलो छ। बोयर जातको बाख्रापालन गरेका अर्घाखाँचीका किसानले राम्रो आम्दानी गर्दै आएका छन्।
बोयर जातका बोका सन्धिखर्कमा लागेको कृषि प्रदर्शनी मेलाको प्रमुख आकर्षण बनेको थियो । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा रहेका कृषकले तीन वर्षअघि अस्ट्रेलियाबाट तीन लाखमा किनेर ल्याई पालिएको बोयर बोका एक सय ६५ केजी पुगेको हो।
डिभर्ना बोयर जातका बाख्रा उत्पादनस्थल समेत बनेको छ। मासुजन्य उत्पादकत्व सुधार तथा बोयर वर्णशंकर उत्पादन कार्यक्रमअन्तर्गत जालकाँडा बाख्रापालन समूह सन्धिखर्क नगरपालिका डिर्भनाका किसानले शुद्ध बोयर जातको बोकाको प्रयोग गरी उत्पादनमा तेब्बर वृद्धि गरेका छन्।
अस्ट्रेलियाबाट प्रतिबोका तीन लाखका दरले १५ वटा बोयर जातका बोका ल्याएपछि बोयर जातको बाख्रा उत्पादनमा वृद्धि भएको हो। परम्परागत रूपमा पालिँदै आएका खरी जातका बाख्रामा उन्नत बोयर बोका क्रस गराएर ६ महिनामै ४० केजीसम्मको मासु उत्पादन हुन थालेपछि अहिले बाख्रापालन व्यवसाय झनै फस्टाउँदै गएको छ।
डिभर्नाका कृषकले बोयर जातका बोकाको बिक्रीबाट मनग्गे आम्दानी गर्न सफल भएका छन्। सन्धिखर्क नगरपालिका नम्बर ११ डिभर्नामा कृषकले बोयर जातका बोकाको क्रस गरेर जन्माएका बोकाको बिक्रबाट मात्र ९५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।
यहाँ उत्पादित बोयर जातका बोका बिक्रीका लागि जिल्लाबाहिर सल्यान, रुकुम, प्युठान, स्याङ्जा, पाल्पा, गुल्मी र अर्घाखाँचीका ५ स्थानीय तहमा पठाइएको छ। यहाँबाट पाठापाठीसमेत बिक्री हुदै आएको जालकाँडा बाख्रापालन समूहका अध्यक्ष गोपाल बस्यालले जानकारी दिए। यस्तै जिल्लाको छत्रदेव गाउँपालिकामा १२५, भूमिकास्थान नगरपालिकामा ३८, सितगंगा नगरपालिकामा २५, सन्धिखर्क नगरपालिकाका अन्य वडामा १६ बोका यस समूहबाट खरिद गरेर वितरण गरेको बस्यालको भनाइ छ। ज्युदो १ केजीको एक हजारको दरले बोका बिक्री भएका छन्।
डिभर्नामा दुई वर्षअघि १३ वटा र गत वर्ष तीनवटा बोयर जातको बोका वितरण गरिएको हो। जालकाँडा बाख्रापालन समूहका अध्यक्ष बस्यालका अनुसार गाउँका एक सय ५३ घरधुरी संलग्न रहेको समूहले अहिले १२ सय बाख्रापालन गर्दै आएका छन्। बोयर जातको बोका बाख्रालाई लगाई उत्पादनमा तेब्बर वृद्धि भएको छ।
‘एउटा पाठापाठी जन्मदा नै चारदेखि ५ किलोको हुन्छ, पहिलेको काठे बाख्रापालनमा एक वर्षमा २५ किलो हुन्थ्यो भने अहिले बोयर जातको बोका ल्याएपछि तीन महिनामा नै ३० किलाको हुन्छ,’ उनले भने।
एक सय ५३ घरधुरी संलग्न रहेको जालकाँडा बाख्रापालन समूहका कृषकले शुद्ध बोयर बोकाबाट उत्पादित बोका बिक्रीबाट पाउने ९५ लाख रकम हस्तान्तरण गरिएको थियो। डेढ वर्षको अवधिमा तीनवटा मात्र बाख्रा पालेकी डिभर्नाकी गिता भुसालले बोका र पाठी बिक्रीबाट दुई लाख ५१ हजार बुझ्न सफल भएकी छन्। यो आम्दानी अन्य ब्यबसायबाट प्राप्त गर्न कठिन परि श्रम गर्नुपछ। तर सजिलो माध्यमबाट मनग्गे आम्दानी गर्न सफल हुँुदा उनी दंग छन्।
डिभर्नामा रहेको जालकाडा बाख्रापालन समूहमा अहिले एक हजार दुई सयको हाराहारीमा बाख्रा छन्। डेढ वर्षअघि ल्याएका बोयर जातीको बोका अहिले एक हजारभन्दा बढी बाख्रामा लागेको छ।
बोयर जातको बोका वितरण गरेसँगै सोही वडाका बासिन्दा बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन्। सुरुवातको समय भए पनि सदस्यसँग कम्तीमा तीनदेखि पैतिस वटासम्म बाख्रा छन्। अध्यक्ष बस्यालसँग मात्रै २५ वटा बाख्रा छन्।

अन्य समाचारहरु