सिद्धारामा बाख्रा पालन
लक्ष्मण घिमिरे
अर्घाखाँची १८ माघ । अर्घाखाँचीलाई बाख्राको स्रोत केन्द्र बनाउने तयारी भएको छ ।
प्रदेश नंम्बर-५ पशुपंक्षी तथा मत्स्य निर्देशनालयले बुटवलमा आयोजना गरेको सार्वजनिकीकरण गोष्ठीमा अर्घाखाँचीलाई बाख्राको स्रोत केन्द्र बनाउने तयारी भएको जानकारी गराईएको छ । भूमि-व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले सरकारले आगामी तीन वर्षभित्र दूध, अण्डा, मासु र माछामा प्रदेश नंम्बर-५ लाई आत्मनिर्भर बनाउने योजना अगाडि बढाएको बताउँदै अर्घाखाँचीलाई बाख्राको स्रोत केन्द्र बनाउने योजना रहेको जानकारी दिनुभयो । गोठ र बारीमा रहेका कृषकलाई सरकार सहयोग गर्न तत्पर रहेको पनी उहाँको भनाई छ ।
गोष्ठीमा वरिष्ठ पशु विकास अधिकृत शरण पाण्डेले आर्थिक वर्ष २०७५/७६ को बजेट र कार्यक्रमबारे जानकारी दिँदै आगामी तीन वर्षभित्र दूध, अण्डा, मासु र माछामा प्रदेश नंम्बर-५ लाई आत्मनिर्भर बनाउने योजना ल्याइएको बताउनु भयो ।
पशु आहाराको व्यवस्थापन, नश्ल सुधार, पशु स्वास्थ्यमा सक्षमता, विभिन्न तालीम र बजारीकरणमार्फत प्रदेशलाई पशुजन्य पदार्थ उत्पादनमा आत्मनिर्भर बनाउन सकिने उहाँले बताउनु भयो ।
हाल ५ नम्बर प्रदेशमा ४ लाख ९ हजार ४३४ लिटर दूध उत्पादनको आवश्यक्ता रहेकोमा अहिले ३ लाख ३१ हजार ३९२ लिटर दूध उत्पादन भइरहेको छ । अपुग भएको दूध आर्थिक वर्ष २०७५/७६ मा २० हजार लिटर र यसलाई वर्षेनी बढाएर लक्ष्य हासिल गरिने छ ।
यस्तै ६२ हजार ९०० मेट्रिक टन मासुको आवश्यकता हुने ५ नम्बर प्रदेशमा ५७ हजार ३३९ मेट्रिक टन मासु उत्पादन हुने गरेको छ ।
अपुग भएको मासु आर्थिक वर्ष २०७५/७६ मा दुई हजार ५०० मेट्रिक टन आपूर्ति गरिने र यसलाई वर्षेनी बढाएर लक्ष्य हासिल गरिने छ । २ लाख १५ हजार ९६५ अण्डा आवश्यक भएकामा अहिले १ लाख ५७ हजार २१ अण्डा प्रदेशमा उत्पादन भइरहेको छ ।
अपुग भएको अण्डालाई आर्थिक वर्ष २०७५/७६ मा ३० हजार र त्यसपछि क्रमशः अण्डा उत्पादन बढाउने लक्ष्य लिइएको छ ।
त्यस्तै २२ हजार ४९६ मेट्रिक टन माछाको आवश्यकता हुने भएपनी १२ हजार ३१३ मेट्रिक टन माछा मात्र उत्पादन हुँदै आएको छ ।
पशुपंक्षी तथा मत्यस निर्देशनालयले अपुग भएको माछा एक हजार मेट्रिक टन आर्थिक वर्ष ०७५/७६ मा पूरा गरिने र यसलाई वर्षेनी बढाएर लगिने नीति रहेको जनाएको छ ।
मन्त्रालयका सचिव यमनारायण देवकोटाले मागमा आधारित कार्यक्रमलाई सम्बोधन गरिने बताउनु भयो ।