बारा, माघ २७ । भारतीय मालवाहक ट्रकलाई निर्वाध रुपमा नेपाल प्रवेश दिइँदा आफूहरुको व्यवसाय नै संकटमा परेको नेपाली ट्रक व्यवसायीहरुले गुनासो गरेका छन् ।
भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिने सबै प्रकारका वस्तु भारतीय ट्रकले नै नेपालभर ढुवानी गर्न थालेपछि नेपाली ट्रक कामविहीन हुँदा व्यवसाय नै संकटमा परेको ट्रक व्यवसायीको गुनासो छ ।
भारतीय ट्रकले नेपालमा सामान ल्याउँदा नेपाली भन्सारदेखि १७ किलोमिटरसम्म मात्र ढुवानी गर्न पाउने पारवहन सम्झौतामा उल्लेख भए पनि उक्त नियम विप्पा सम्झौतापछि समाप्त भई ७२ घण्टे समयावधि लागू गर्दा व्यवसायीहरु टाट पल्टिने अवस्था आएको तराई यातायात व्यवसायी संघका अध्यक्ष ओमकृष्ण कार्कीले बताए ।
भारतीय ट्रकले नेपालभर ढुवानी गर्न थालेपछि नेपाली ट्रकले बोक्ने सामानको अभाव हुँदै जाँदा व्यवसाय नै संकटमा पर्न थालेको उनले बताए ।
राज्यले यातायात व्यवसायीलाई हेर्ने नजर परिवर्तन नभएसम्म यातायात क्षेत्रको विकास नहुने र भारवहन सवारीको हकमा निर्धारण गरेको भाडादरसमेत कायम हुन नसक्दा नेपाली व्यवसायी टाट पल्टिने अवस्था आउन लागेको संघका महासचिव शंकरकुमार विष्टको भनाइ छ ।
तराई यातायात व्यवसायी संघले व्यवसायीहरुको राय सुझाव संकलनका लागि बोलाएको भेलामा राज्यले निर्धारण गरेको भाडादर कायम गराउने, नेपालमा उत्पादित सामग्री भारतीय गाडीले बोक्न प्रतिबन्ध लगाउनुपर्ने र भारतीय ट्रकको निर्वाध आवत जावत नियन्त्रण गर्नु पर्ने माग व्यवसायीले गरेका छन् । इमेजखबरमा समाचार छ ।