श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची फागुन १ – प्रदेश ५ को स्थापना दिवस अर्घाखाँचीमा विभिन्न कार्यक्रम गरि मनाईने भएको छ ।
सन्धिखर्कमा बुधबार सम्पन्न सर्वपक्षिय बैठकले तीन दिन विशेष महत्वका साथ स्थापना दिवस मनाउने निर्णय गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा, सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने लगायतको उपस्थितिमा सम्पन्न बैठकले भोली २ गते बिहान बृहत् रुपमा सन्धिखर्क नगर सरसफाई गर्ने निर्णय गरेको हो ।
निर्णय अनुसार भोली बिहान सन्धिखर्क टुडिखेल सहित मुख्य बजार क्षेत्र सरसफाइ गरिने छ । त्यस्तै दुई, तीन र चार गते साँझ सरकारी कार्यालय सहित घर घरमा दिपावली गर्ने समेत निर्णय गरिएको छ ।
बैठकमा जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुख सहित राजनितिक दलका नेताहरुको उपस्थिति रहेको विवेकशिल साझा पार्टीका नेता हरिप्रसाद भुसालले जानकारी दिएका छन् ।