प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार पनि संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार गरेको छ ।
संवैधानिक परिषदले प्रक्रिया नपुर्याइ विभिन्न पाँच संवैधानिक आयोगका अध्यक्ष सिफारिस गरेको भन्दै कांग्रेसले समितिको बैठक बहिस्कार गर्दै आएको छ ।
सिफारिस गरिएका पाँचजना पदाधिकारीउपर परेका उजुरीबारे छलफल गर्न आइतबार सिंहदरबारमा बसेको बैठक पनि कांग्रेसले बहिस्कार गरेको हो ।
कांग्रेसले बहिस्कार गरे पनि समितिले आयोगमा सिफारिस पदाधिकारीमाथि परेका उजुरी खोलेको छ ।
यस्तै, बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा सिफारिस बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा सिफारिस शान्तराज सुवेदीको यही फागुन ७ गते मध्याह्न १२ बजे सुनुवाइ गर्ने निर्णय गरेको छ ।
मुस्लिम आयोगका अध्यक्षविरुद्ध ४ उजुरी
विभिन्न पाँचओटा आयोगमा सिफारिस गरिएका अध्यक्षहरुमध्ये मुस्लिम आयोगका अध्यक्ष समीम अन्सारीविरुद्ध चारओटा उजुरी परेको छ । अरु चार अध्यक्षबारेमा कुनैपनि उजुरी नपरेको समितिले जानकारी दिएको छ ।
समितिका सभापति लक्ष्मणलाल कर्णले कांग्रेसका सांसदले बहिस्कार गरे पनि बहुमतबाट आयोगका अध्यक्षहरुबारे निर्णय गरिने जानकारी दिए ।
१५ सदस्यीय सुनुवाइ समितिमा नेपाली कांग्रेसका चारजना सदस्य छन् । इमेजखबरमा समाचार छ।