अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेकपा नेत्रविक्रम चन्द विप्लवका कार्यकर्तालाई प्रकाउ गर्न व्यापक प्रहरी परिचालन गरिएको छ ।
विप्लवका कार्यकर्ताहरुले एनसेलमा विष्फोट, चन्दा आतंक बढाएको, कुटपिट लगायत घटनालाई कायम राखेको र थप गर्न सक्ने भन्दै उनिहरुलाई प्रकाउ गर्न व्यापक प्रहरी परिचालन गरिएको हो । यस्तै जिल्लाभर सुरक्षा सतर्कता उच्च बनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयमा आज शनिवार प्रमुख नवराज मल्लले भेला गराएर जिल्ला प्रहरी तथा मातहतमा रहेका प्रहरी ईकाई ईन्चार्जहरु र यस कार्यालयमा कार्यरत जु.प्र.अ.हरुलाई ने.क.पा.विप्लवका कार्यकर्ताहरुले एनसेलका BTS TOWER मा विष्फोट गराएको, चन्दा आतंक बढाएको, थप कुनै पनि प्रकारका गतिविधी बढाउन सक्ने विषयमा चुस्त सुचना संकलन र कुनै पनि घटना घटाएमा तत्काल पक्राउ गर्ने र आ-आफ्नो प्रहरी ईकाईको क्षेत्राधिकार भित्र रहेका लुक्न सक्ने उक्त समूहका कार्यकर्ताहरुको सुक्ष्म निग्रानी र आवश्यक सचेतना बढाउने सम्बन्धी आवश्यक निर्देशन दिएका थिए ।
गत माघ २३ गते अर्घाखाँची जिल्लाबाट नेकपाको सांगठनिक अभियानको शिलशिलामा नेकपाका लुम्बिनी व्यूरो सदस्य एवं गुल्मी जिल्ला इन्चार्ज कमरेड पुर्णवहादुर सिंह, सेक्रेटरी कमरेड खिमबहादुर खड्का, अर्घाखाँची जिल्ला पार्टी सचिवालय सदस्य कमरेड पिताम्बर पोखरेल, अभियानयात्री कमरेड टुकलाल पुनलाई अर्घाखाँची प्रहरीले गिरफ्तार गरेको थियो । साथै फागुन ७ गते मंगलबार सन्धिखर्कमा सबै नेताहरुलाई अदालतबाट १० हजार धरौटीमा रिहाँ गरेको थियो ।
अर्घाखाँची जिल्लामा नेकपा नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताहरुले भने पूर्वघोषित संघर्षका कार्यक्रम, कारबाही निरन्तर जारी राख्ने अर्घाखाँचीडट्कमलाई बताए ।