अर्घाखाँचीमा १०९ औं अन्तराष्ट्रिय महिला दिवस मनाइयो (तस्बिर सहित)
फाल्गुन २४ गते, २०७५ मा प्रकाशित
शेभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची फाल्गुण २४ । मुलुकमा राजनितिक परिवर्तन भएपनि सामाजिक संस्कार संस्कृतिमा कुनै अन्तर नआएको भन्दै एक कार्यक्रमका बक्ताहरुले समाज रुपान्तरणको निम्ति महिला मुक्ति आबश्यक रहेको बताए ।
अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अबसरमा उनीहरुले नेपाली जनताको त्याग र तपस्या बाट निर्मित संविधानको कार्यान्वयनको पक्षमा समेत जोड दिए । संविधानमा महिला अधिकार र महिला मुक्तिका धेरै कुराहरु उल्लेख भएपनि व्यबहारमा त्यसको कार्यान्वयन नभएको उनीहरुको गुनासो थियो । पुरुषबादी सोंच र चिन्तन हाबी रहेसम्म समुन्नत समाज निर्माण हुन नसक्ने उनीहरुको भनाई थियो ।
कार्यक्रममा मन्तव्य राख्दै प्रदेशसभा सदस्य जाल्पा भुसालले राज्यका हरेक तहमा महिलाहरुको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने बताउनुभयो । राजनैतिक परिवर्तनमा महत्वपूर्ण भुमिका खेल्ने महिलाहरु अहिले पनि बास्तविक रुपमा अधिकार पाउनबाट बन्चित रहेको उहाँको भनाई थियो । सांसद भुसालले पितृसतात्मक सोंच र प्रबृतिको अन्त्य गरी लैडिङ्ग विभेद हटाउनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्माले महिला पुरुष एउटै सिक्काका दुई पाटा भएको बताउँदै राष्ट्र निर्माणमा एकताबद्ध भएर अँगाडि बढ्नुको कुनै विकल्प नरहेको बताउनुभयो ।
सन्धिखर्क नगरपालिका नगरप्रमुख कमल प्रसाद भुसालले लैङ्गिक विभेदको अन्त्य गरी समाजिक न्याय स्थापित गर्नका निम्ति आफुहरु प्रतिबद्ध रहेको बताउनुभयो । सन्धिखर्क नगरपालिका नगर उपप्रमुख ठाकुर कुमार वि.क. किशोरले महिला अधिकार केबल कागजमा मात्र लेखेर नहुने बताउँदै त्यसको सहि कार्यान्वयनको निम्ति सबै पक्ष चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।
सन्धिखर्क नगर कार्यपालिका सदस्य यमकला थापाको अध्यक्षता र नेपाल महिला ‘संघका सचिब संगिता बेल्बासेको सञ्चालनमा सम्पन्न कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी विक्रम थापा , नेकपाका नेता जनार्दन खनाल ,नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल मुस्कान ,राष्ट्रिय जनमोर्चाका नेता पशुपति ढकाल, महिला नेतृहरु छमकुमारी खनाल चिनारी , शान्ता भण्डारी ,बिजुला रायमाझी , विष्णु आचार्य , कमला भुसाल भण्डारी, गिता भुसाल लगायतले मन्तव्य राख्दै महिला हक,हित र अधिकारको पक्षमा जोड दिनुभएको थियो ।
कार्यक्रममा एकल महिला सञ्जालका जिल्ला अध्यक्ष खगिश्वरा बस्याल, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष गणेश खनाल लगायतका बक्ताहरुले समेत मन्तव्य राख्नुभएको थियो ।
यसअघि सन्धिखर्क स्थित शान्तिबगैचा बाट निस्किएको महिलाहरुको विशाल जुलुसले सन्धिखर्क र चुत्राबेसी बजार परिक्रमा गरेको थियो । यसैबीच अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अबसर पारी आजै लोकगीत , घैटोफोर लगायतका कार्यक्रमहरु समेत सम्पन्न गरिएका छन् ।