(२०७५ फाल्गुन २५, शनिवार)
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ९ सिद्धाराकाे लाैरीमा जौबारी, छहरे, लाैरी सोलार लिफ्ट खानेपानी तथा सरसफाई योजना उद्घाटन भएको छ ।
प्रेमनारायण आचार्यअर्घाखाँचीडट्कम संवाददाता
सिद्धारा, अर्घाखाँची । खानेपानीको अभावले ग्रसित शितगंगा नगरपालिकाको वाड नम्वर ९ सिद्धाराको लौरी गाँउका घरघरमा धारा बनेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । प्रत्येक घरमा बनेका खानेपानीको धारामा पानी खसेपछि लौरीका ५९ घरधुरी हर्षित भएका हुन । खानेपानीको लागि बिहानै ३ बजे उठेर कुवा र पधेरा चाहर्नु पर्ने समयको अन्त्य भएर घरघरमा बनेका धारामा पानी खस्दा अत्यन्तै खुसी लागेको स्थानीयहरुले बताए ।
शितगंगा नगरपालिका , पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना र जनश्रमदान गरि कुल ९९ लाख २६ हजार १ सय ९० रुपैयाको लागतमा जौवारी ,छहरे, लौरी, सोलार लिफ्ट खानेपानी तथा सरसफाइ योजना सम्पन्न भएको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाका जिल्ला संयोजक कुशल भुसालले बताए ।
लौरीका ५९ घर र १ विद्यालयमा वालमैत्री धारा गरि ६० वटा धारा निर्माण भएका हुन । खानेपानीबाट ३ सय ४५ जनसंख्या लाभान्वित भएका छन । खानेपानीको धारा मात्र हैन । खानेपानी संगसंगै पुर्ण सरसफाइलाइ पनि उनीहरुले अगाडी बढाएका छन । प्रत्येक घर सफा र स्वच्छ छन । सबैघरमा चर्पीको प्रयोग भएको छ । घरआगन सफा छ । भाडा माझ्ने जुठेल्नो र चांग पनि निर्माण भएका छन शितगंगा ९ का वडा अध्यक्ष भीम केसीले बताए ।
खानेपानीको उद्धाटन पुर्व उपप्रधान मन्त्री तथा नेकपाका नेता टोपबहादुर रायमाझि र शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारी, जिल्ला समन्वय समितिका उपप्रमुख ऋषिबहादुर पुलामीले संयुक्त रुपमा गरेका छन । कार्यक्रममा पुर्व उपप्रधान मन्त्री तथा नेकपाका नेता टोपबहादुर रायमाझि र शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारी, जिल्ला समन्वय समितिका उपप्रमुख ऋषिबहादुर पुलामी, शितगंगा नगरपालिकाका नगर उपप्रमुख टिका रेस्मी, नेकपाका बसन्त श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सचिव छविलाल पौडेल, उद्योग वाणिज्य संघका महासचिव प्रदिप मिश्र लगायतले मन्तब्य राखेका थिए ।