कमला पोख्रेल
सन्धिखर्क, अर्घाखाँची २८ फागुन । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य मानबहादुर विश्वकर्माले दलितहरुले प्राप्त गरेको अधिकार खोसिन थालेको बताउनु भएको छ ।
उहाले दलितहरुले पाउने छात्रबृति हटेको उल्लेख गर्दै बर्तमान सरकारले निजामती सेवामा पनि एक पटक मात्र आरक्षण पाउने नियम ल्याउन थालेको उल्लेख गर्दै दलितका मागमा सरकार गम्भीर नभएको आरोप लगाउनु भएको छ । उहाले प्राप्त अधिकार गुम्न नदिनकालागि सबै दलितहरु एक हुनु पर्ने बताउनु भयो ।
अर्घाखाँचीको सन्धिखर्कमा स्थानीय दलित महिला जनप्रतिनिधिहरुको काम , कर्तब्य, अधिकार र नेतृत्व विकास सम्बन्धि ३ दिने तालिमको समापन समारोहलाइ सम्बोधन गर्दै नेता विश्वकर्माले यस्तो कुरा बताउनु भएको हो ।
उँहाले दलितका माग र अधिकारमा राजनितिकि स्वार्थ भन्दा माथी उठेर काम गर्न सबै दलित जनप्रतिनिधिहरुलाइ आग्रह गर्नु भयो ।
नेपाल दलित उत्थान संघको आयोजना र एफइएस नेपालको सहयोगमा सञ्चालित तालिमको समापन समारोहमा अधिबक्ता पवित्रा राउत, सुस्मा गौतम, सचिता कुइकेल पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण आचार्य, तालिममा सहभागी दलित जनप्रतिनिधिहरु आशा परियार, सुमित्रा विक, सुन्तली विक लगायतले मन्तब्य राख्नु भएको थियो ।
तालिमको समापन समारोह नेपाल दलित उत्थान संघका अध्यक्ष कमल विश्वकर्माको अध्यक्षता र नारायण खत्रीको सञ्चालनमा सम्पन्न भएको हो ।