अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा नेकपा नेत्रविक्रम चन्द विप्लव नेतृत्व समुहले भोली फागुन ३० गते नेपाल बन्दलाई असहयोग गर्नेलाई भौतिक कारबाही गर्ने चेतावनी दिएको छ ।
बिप्लप नेतृत्वको नेकपा अर्घाखाँचीका जिल्ला इन्चार्ज कमलले प्रेस विज्ञप्ति निकालेर जिल्लाबासीलाई आफ्ना बन्द लगायत पूर्वघोषित संघर्षका कार्यक्रमलाई सहयोग गर्न अनुरोध गरेका छन् । साथै जिल्लाका एक नेताले कसैले उल्लंघन गरेमा भौतिक कारबाही गर्ने चेतावनी दिएका छन् ।
साथै अर्घाखाँची जिल्लामा नेकपा नेत्रविक्रम चन्द विप्लव नेतृत्वका जिल्ला तहका सबै नेता तथा कार्यकर्ताहरु सरकारले प्रतिबन्ध लगाएसँगै भूमिगत भएका छन् । विप्लवका जिल्ला तहका एक नेताले अर्घाखाँचीडट्कमलाई जानकारी गराए अनुसार आ-आफ्ना नेता, कार्यकर्ता भूमिगत अवस्थामा रहेको र भूमिगत अवस्थाबाट पूर्वघोषित संघर्षका कार्यक्रम, कारबाहीलाई अझ कडा रुपमा लैजाने बताए । साथै केही दिन अगाडि घोषणा गरेका पूर्वघोषित संघर्षका कार्यक्रम यतावत रहने जानकारी गराए ।
सरकारले विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने, चन्दा आतंकसहित आपराधिक क्रियाकलाप गरेकोले नेकपा (विप्लव समूह) माथि प्रतिबन्ध लगाउने निर्णय मंगलबार गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई अर्घाखाँचीभर कुनै पनि कार्यक्रम गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ।
गृह मन्त्रालयले मंगलवार गरेको सर्कुलर अनुसार जिल्ला सुरक्षा समितिको बैठकले विप्लव नेतृत्वको नेकपालाई जिल्लाको कुनै पनि भुभागमा कुनै पनि गतिविधि र कार्यक्रम गर्न नदिने निर्णय गरेको हो ।
अर्घाखाँची प्रहरीले विप्लव समूहमा आवद्ध जोकोहीलाई जहाँ भेट्यो त्यहीँ नियन्त्रणमा लिने
उता सरकारले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमाथि प्रतिबन्ध लगाएसँगै प्रहरीले समूहमा आवद्ध जोकोहीलाई जहाँ भेट्यो त्यहीँ नियन्त्रणमा लिने भएको छ । विप्लव समूहलाई आपराधिक घोषित गर्दै प्रतिबन्ध लगाएसँगै प्रहरीले आक्रामक नीति अपनाउने भएको हो ।
अर्घाखाँचीमा प्रहरीले यस अगाडि नै विप्लव नेतृत्वको नेकपाविरुद्ध कडाई गरेको थियो । जिल्ला प्रहरी कार्यालयमा गत फाल्गुन १८ शनिवार प्रमुख नवराज मल्लले भेला गराएर जिल्ला प्रहरी तथा मातहतमा रहेका प्रहरी ईकाई ईन्चार्जहरु र यस कार्यालयमा कार्यरत जु.प्र.अ.हरुलाई ने.क.पा.विप्लवका कार्यकर्ताहरुले एनसेलका BTS TOWER मा विष्फोट गराएको, चन्दा आतंक बढाएको, थप कुनै पनि प्रकारका गतिविधी बढाउन सक्ने विषयमा चुस्त सुचना संकलन र कुनै पनि घटना घटाएमा तत्काल पक्राउ गर्ने र आ-आफ्नो प्रहरी ईकाईको क्षेत्राधिकार भित्र रहेका लुक्न सक्ने उक्त समूहका कार्यकर्ताहरुको सुक्ष्म निग्रानी र आवश्यक सचेतना बढाउने सम्बन्धी आवश्यक निर्देशन दिएका थिए ।
गत माघ २३ गते अर्घाखाँची जिल्लाबाट नेकपाको सांगठनिक अभियानको शिलशिलामा नेकपाका लुम्बिनी व्यूरो सदस्य एवं गुल्मी जिल्ला इन्चार्ज कमरेड पुर्णवहादुर सिंह, सेक्रेटरी कमरेड खिमबहादुर खड्का, अर्घाखाँची जिल्ला पार्टी सचिवालय सदस्य कमरेड पिताम्बर पोखरेल, अभियानयात्री कमरेड टुकलाल पुनलाई अर्घाखाँची प्रहरीले गिरफ्तार गरेको थियो । साथै फागुन ७ गते मंगलबार सन्धिखर्कमा सबै नेताहरुलाई अदालतबाट १० हजार धरौटीमा रिहाँ गरेको थियो ।