अर्घाखाँचीमा हर्षोल्लासका साथ फागु – होली पर्व मनाइयो (भिडियो, तस्बिर सहित)


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार अर्घाखाँची जिल्लामा हर्षोल्लासका साथ मनाइँएको छ ।
फागु पर्व मनाउन बालबालिका, युवायुवती देखी बृद्धाहरु समेत फागु खेल्दै सन्धिखर्क बजार परिक्रमा गरेका थिए । यस्तै अर्घाखाँची जिल्लाभर गाउँ – गाउँमा खुसियाली साथ एक आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाएका देखिन्थे ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
उता यस पर्वका अवसरमा बुधबार काठमाण्डौको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ ।
यता जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले होली पर्वमा जबर्जस्ती अबिर र रङ्ग दल्ने,छ्याप्ने ,प्लास्टिक तथा लोला हान्ने,फोहोर पानी,हिलो, मोबिल एवं अन्य हानिकारक चिजबस्तु लगाउने प्रयत्न गर्नेलाई तत्काल पक्राउ गरि कानुनी कारबाही गर्ने बताएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सुचना जारी गर्दै होली पर्वलाई सभ्य शान्त र मर्या्िदत रुपले मनाउन अनुरोध समेत गरेको छ ।

अन्य समाचारहरु