प्रकासित मिती: ७ चैत्र, २०७५
लक्ष्मण घिमिरे
बुटवल ७ चैत्र । एचआइभी संक्रमित बिरामीको अप्रेसन गर्न लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा चिकित्सहरूले आनाकानी गरेका छन ।
अर्घाखाँची पाणिनी गाउँपालिका–२ का एक पुरुष पिलो चिर्न लुम्बिनी प्रादेशिक अस्पताल गएका थिए ।
रगत चेकजाँच गर्दा एचआइभी संक्रमण देखिएपछि सर्जन डाक्टरहरू भुवन पौडेल र शरद पोखरेलले पिलो चिरफार गर्न अस्वीकार गरेको बिरामीका दाजु घनबहादुर थापाले गुनासो गर्नुभयो ।
रगत जाँच्दा एचआईभी देखिएपछि डाक्टरहरुले यहाँ अपरेसन गर्न नसकिने भन्दै काठमाडौं लैजान भनेका थिए । पिडितका दाजु घनबहादुरका अनुसार अस्पतालले शुरुमा भर्ना पनि लिन नमानेको र गाउँपालिका अध्यक्ष अच्युत गौतमलाई फोन गरेपछि बल्ल भर्ना लिएको बताउनु भयो ।
२३ वर्षका उनी ६ वर्षदेखि भारतमा मजदुरी गर्दै आएका थिए । उनी बिरामी भएपछि घरमा आएर चेक गर्दा शुरुमा टिभी र पछि बुटवल गएर चेक गर्दा एचआइभी पोजेटिभ देखिएको थियो । अरू डाक्टरले आनाकानी गरेर पन्छिएपछि हिंजो अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट समेत रहेका डा. कृष्ण खनालले पिलोको अपरेसन गरिदिएका छन ।
सुपरिटेन्डेन्ट खनालले सिनियर डाक्टरले अप्रेसन गर्नुपर्ने प्रावधान भएकाले अन्य डाक्टरले नगरेको दाबी गर्नुभयो ।