अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची । नेपाली कांग्रेसबाट निर्वाचित अर्घाखाँचीको शितगंगा नगरपालिकाका मेयर सूर्यप्रसाद अधिकारीले नगर क्षेत्रमा लोकप्रिय घोषणा गरेका छन् ।
भौगोलिक दृष्टिकोणले नेपालकै सबैभन्दा ठूलो नगरपालिकाका मेयर अधिकारी करीब डेढ वर्षअघि भएको स्थानीय निर्वाचनबाट चुनिएका थिए ।
प्रदेश सरकारले निर्णय गरेपछि स्थानीय तहका जनप्रतिनिधिहरूले तलब र सेवासुविधा लिन शुरू गरेका छन् । जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधिले सरकारी नियम अनुसार सेवासुविधा तलबभत्ता लिइरहेका छन् ।
स्वास्थ्य र शिक्षामा पछाडि परेको शितगंगा नगरपालिकाका मेयर सूर्यप्रसाद अधिकारीले आफूले पाउने तलब जनताको हितका लागि खर्च गर्ने घोषणा गरेका छन् । अर्घाखाँचीको ठाडामा भएको एक कार्यक्रममा मेयर अधिकारीले सबै जनताले पढ्न पाउन्, राम्रो उपचार पाउन् भन्ने उद्देश्यले आफ्नो पारिश्रमिक शिक्षा र स्वास्थ्यमा खर्चिने बताए ।
मेयरको घोषणाले नगरबासी सर्वसाधारणले खुशीले गदगद् भएका छन् । नगरपालिकाभित्र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि नगरपालिकाभित्र रहेका प्रअहरूलाई निर्देशन दिएका छन् ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्दै, स्वास्थ्य र शिक्षा क्षेत्रमा अगाडि बढाउनका लागि सक्रिय भएर लाग्न आग्रह गरेका छन् ।
-तस्बिर: घनश्याम पौडेलबाट