सन्धिखर्कमा ५ नम्बर प्रदेशको नाम मगरात राखिनुपर्ने माग गर्दै प्रशिक्षण कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क । ५ नम्बर प्रदेशको नाम मगरात राखिनुपर्ने माग गर्दै अर्घाखाँचीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर संघ, जिल्ला समन्वय समिति अर्घाखाँचीले आज सन्धिखर्कमा आयोजना गरेको एकदिने प्रशिक्षणमा बोल्ने वक्ताहरूले मगरात राज्यका लागि अब आन्दोलनमा होमिन आग्रह गरेका छन् । 
प्रदेश अध्यक्ष विमल सारुमगरले राज्यको दमनमा परेर नेपालका मगरहरू राजनीतिक, भाषिक, आर्थिक र धार्मिक विभेदमा परेको र अब मगर संघको मूल सवाल यही बनाइने बताए । अब आफूहरू आन्दोलनमा जाने र सबै जिल्लामा रहेका मगर संघहरू यस आन्दोलनमा सहभागी हुन आग्रह गरे । जहाँ मगर त्यहाँ मगर संघ, जहाँ मगर संघ त्यहाँ स्वायत्त मगरात हुनुपर्ने भन्दै उनले अब मगरात राज्य प्राप्तिका लागि हस्ताक्षर संकलन, कोणसभा र भित्तेलेखन अभियानमा मगर संघ लाग्ने पनि स्पष्ट पारे ।
त्यसैगरी प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रिय सदस्य धनबहादुर पुनमगरले मगरात मगरहरूको मात्र इतिहास नभएर नेपाल र सम्पूर्ण नेपालीको इतिहास भएको बताएका छन् । मगर जाति हो तर मगरात सम्पूर्ण नेपालीको साझा इतिहास हो भन्दै केन्द्रिय सदस्य पुनमगरले नेपालको पहिलो राज्यसभा नै मगरात रहेको बताए । त्यसैगरी उनले विभिन्न विचार र आस्थामा रहेका मगरहरू मगरात प्रदेशका लागि एकजूट हुनुपर्ने जिकिर गरे । 
मगर संघ जिल्ला समन्वय समितिका अध्यक्ष नेत्र थापामगरको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा मगर संघ ५ नम्बर प्रदेशका सहकोषाध्यक्ष कृष्ण सारुमगर, प्रदेश सचिवालय सदस्य टोपबहादुर बलालमगर, प्रदेश सदस्य दिनेश घर्तिमगर, जिल्ला समन्वय समितिका उपप्रमुख ऋषिबहादुर पुलामीमगर, नेपाल महिला मगर संघ जिल्ला संयोजक बसन्ता सारुमगर, नेपाल मगर विद्यार्थी संघ जिल्ला सचिव सावित्रा दर्लामीमगर लगायत जिल्लाका मगरहरूको सहभागीहरूको सहभागिता रहेको थियो । 
कार्यक्रम मगर संघ जिल्ला सचिव ईन्द्र गेलाङमगरको सञ्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु