मुक्तिनाथ भुसाल
सन्धिखर्क चैत्र २८ । सन्धिखर्क नगरपालिका–६ स्थित रातटारी सडकमा गुडेको एक यात्रुवाहक हायस गाडीमा अवैध सुन फेलापरेको छ ।
काठमाडौंबाट सन्धिखर्क आउँदै गरेको बा४ख ४५९८ नम्बरको हाइसबाट अवैध सुन बरामद गरिएको हो । अवैध सुन भित्रिँदै गरेको सूचना मिलेपछि प्रहरीले सो हायस रोकेर जाँच गरेको थियो । सो क्रममा चालक सिटतर्फको ढोकामा रहेको पकेटमा सेतो प्लास्टिक झोलाभित्र कागजले बेरेको अवस्थामा सुन फेला परेको प्रहरीले जनाएको छ ।
प्रतिगोटा ५० ग्राम तौलका तीन थान सुन फेला परेपछि प्रहरीले हायसचालकलाई सोधपुछ गर्दा सन्धिखर्क बजारमा श्रीराम अर्घाखाँची सुनचादी पसल गर्ने कृष्ण पन्थी सुनारले काठमाडौंबाट मगाएको बयान दिएका थिए । प्रहरीले त्यसपछि पसल सञ्चालक सुनारलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले स्वीकार गरेका थिए ।
आफ्नो बयानमा सुनारले भुमिकास्थान नगरपालिका–४ घर भई हाल काठमाडौं बस्ने अजय पौडेलले पठाइदिएको भनी उम्कन खोजेका थिए । तर, भन्सार रकम दाखिला गरेको कागजात नभएकोले उक्त सुन अवैध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक नवराज मल्लले बताएका छन् ।
उनका अनुसार भन्सार छलेर ल्याइएको उक्त सुनको बजार मुल्य ७ लाख ६३ हजार आठ सय पचहत्तर पर्दछ । राज्यलाई छल गर्न खोज्ने चालक सुदिप रायमाझी, पसल सञ्चालक सुनार र पौडेल समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रुपन्देही पठाइएको प्रहरी निरीक्षक गम्भीरजङ्ग थापाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।