सन्धिखर्कस्थित बैंकमा रकम जम्मा गर्ने र झिक्नेको भीड ।
वीरेन्द्र केसी कान्तिपुर
सन्धिखर्क, अर्घाखाँची । गाउँमै वित्तीय संस्था खुलेपछि यहाँका सर्वसाधारणमा बैंकमा बचत गर्ने बानी बढेको छ । टालोमा कुटुरो पारेर घरको खोपी, गारो, पटुकी र दराजमा लुकाएर राख्ने पैसा अचेल बैंकमा खाता खोलेर जम्मा गर्न थालेका हुन् ।
खन, खनदह, अर्घातोसलगायतका गाउँलेलाई खनदह बजारमा साइन रेसुंगा विकास बैंक, सेन्चुरी विकास बैंक र मेगा बैंकले कारोबार गर्न थालेपछि पैसा जम्मा गर्न सहज भएको छ । मालारानी गाउँपालिका खनदहका युवा शोभाखर खनालले गाउँमै बैंक स्थापना भएपछि खाता खोलेर पैसा संकलन गर्न थालेको बताए । ‘मैले पनि बैंकमा खाता खालेको छु,’ उनले भने, ‘गाउँमा बाख्रापाठा, भैंसी, कुखुरा तरकारीलगायत वस्तु बेचेको पैसा गाउँलेले बैंकमा लगेर जम्मा गर्न थालेका छन् ।’
थोरैधेरै जति भए पनि गाउँले रकम संकलन भएपछि बैंकमा जम्मा गर्न थालेको खनालले बताए । ‘घरको ताल्चा तोडेर पैसा लुटियो भन्ने खबर अचेल सुन्नु परेको छैन,’ उनले भने, ‘ब्याज पनि पाइने र सुरक्षित पनि रहने भएपछि पकेट खर्चबाहेकको पैसा बैंकमा जम्मा गर्न थालेका छन् ।’
वैदेशिक रोजगारीमा रहेकाले यसअघि आफन्तलाई पैसा पठाउनुपर्यो भने सदरमुकामका बैंकमा पठाउँथे । अहिले गाउँमै बैंक पुगेपछि बजार धाउनु पर्दैन । परिवारले चाहिएको पैसा लैजान्छन्, बचेको बैंक खातामै जम्मा गरेर राख्छन् । गाउँका व्यापारीले पनि सदरमुकामका व्यवसायीलाई बैंक खाताबाटै पैसा पठाइदिने चलन सुरु भएको छ ।
स्थानीय फक्त सुनारले वर्षमा दुईवटा खसीबोका बित्री गर्छन् । गाउँमा मजदुरी गरेर, सागपात र कुखुरा बेचेर आएको पैसा उनी बैंकमा बचत गर्छन् । ‘गाउँमा बैंक थिएन । जति पैसा भए पनि दराज, घरको खोपीमा राख्थें । बिस्तारै खर्चै भएर सकिन्थ्यो,’ उनले भने, ‘दुई वर्षदेखि थोरै थोरै जम्मा गर्दा पनि अहिले ९० हजार रुपैयाँ बैंकमा बचत भएको रहेछ ।’
आफूलाई आवश्यक पर्दा उनी खनदह जान्छन् र चेक काटेर पैसा झिक्छन् । एक हजार रुपैयाँ हातमा पर्यो कि बैंक पुगेर खातामा जम्मा गर्ने उनले बताए । अहिले त छिमेकीलाई ऋण दिने र तिर्ने काम पनि चेक काटेरै गर्ने गरेको उनले सुनाए ।
मालारानी गाउँपालिकाको आर्थिक कारोबार मेगा बैंकले गरेको छ । पालिकाका नौवटै वडाको योजनाको बजेट पनि वडास्तरबाटै उपाभोक्ता समितिलाई भुक्तानी गरिदिने व्यवस्था गरेको सन्धिखर्क शाखा प्रमुख किरण घिमिरेले बताए । भूमिकास्थान नगरपालिकाको धारपानी, सन्धिखर्क नगरको नरपानी र छत्रदेव गाउँपालिकाको अर्घातोषमा शाखारहित बैंक रहेको उनले बताए ।
गाउँमा रहेका बैंकमा रेमिटयान्स भुक्तानी र सर्वसाधारणले खाता खोलेर पैसा जम्मा गर्ने क्रम बढो रहेको उनले बताए ।
साइन रेसुंगाका सन्धिखर्क, चुत्रावेशी, ठाडा अमराई र खनदहमा शाखा छन् । सन्धिखर्क शाखा प्रमुख लेखनाथ पौडेलले घरमा सर्वसाधारणले पैसा राख्न लगभग छाडिसकेको बताए । ‘बैंकमा राख्न थालेका छन्,’ उनले भने, ‘खाता खोल्ने, पैसा बचत गरेर राख्ने क्रम अहिले बढ्दो छ । कारोबार पनि राम्रै छ ।’
छत्रदेव गाउँपालिकाको छत्रगन्जमा शाखा खालेर नेपाल बंगलादेश बैंकले कारोबार गरेको छ । पहिला बल्कोटमा शाखा थियो । माओवादी द्वन्द्वका क्रममा विस्थापित भयो । गाउँपालिका स्थापनापछि शाखा सञ्चालनमा छ । उक्त बैंकमा गाउँपालिकाले आर्थिक कारोबार गरेको छ । छत्रदेवको बल्कोटमा ग्लोबल आइएमई बैंकको शाखासहित कार्यालय छ । शीतगंगा नगरपालिकाको ठाडादहमा राष्ट्रिय वाणिज्य बैंकको शाखारहित छ । अमराईमा साइन रेसुंगा विकास बैंक, कृषि विकास बैंक र कामना सेवा विकास बैंकले कारोबार गरिरहेका छन् ।
गाउँमै बैंक स्थापना भएपछि सदरमुकाम धाउनु नपरेको ठाडाका स्थानीय सचिन बोहराले बताए । नगरपालिकाले राष्ट्रिय वाणिज्य बैंकबाट कारोबार गरेको छ । पाणिनि गाउँपालिकाको दुर्गाफाँटमा जनता विकास बैंक खुलेको छ । पालिकाले आर्थिक कारोबार यसैबाट गर्छ ।
सदरमुकाममा आठवटा ‘क’ वर्गका सहित एक दर्जनभन्दा बढी वित्तीय संस्थाले कारोबार गरिरहेका छन् । हंसपुरका शिक्षक इन्द्रलाल रेग्मीले रतनमारे बजारमा धौलागिरि लघुवित्त बैंकलगायत आधा दर्जन वित्तीय संस्था खुलेपछि यहाँका जनतालाई वित्तीय कारोबार गर्न सहज भएको बताए । ‘गाउँमा खुलेका वित्तीय संस्थाले सर्वसाधारणलाई भेला गर्ने र रकम बचत गर्न आकर्षित गरिरहेका छन्,’ उनले भने, ‘वित्तीय संस्था खुलेपछि पैसा बचत गर्ने बानीको विकास भएको छ ।’