गोपाल भट्टराई
बैशाख ३ अर्घाखाँची – जातिय समता समाजका केन्द्रिय अध्यक्ष दिल बहादुर वि.क.ले मुलुकमा गणतन्त्र स्थापनाको एक दशक पुगि सक्दा समेत दलित समुदाय माथिको भेदभाव नहट्नु दुःखद भएको बताउनुभएको छ ।
जातिय समता समाजको ३३ औं स्थापना दिवसको अवसरमा आज सन्धिखर्कमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै उहांले यस्तो बताउनुभएको हो ।
कानुन र ब्यबस्था फेरिएपनि मुलुकको राजनीतिक तथा आर्थिक परिवर्तनमा ठुलो योगदान दिंदै आएको दलित समुदायमाथी छुवाछूत,ज्यादती,उत्पीडन र शोषणको ब्यबहार परिवर्तन हुन नसकेको भन्दै अध्यक्ष वि.क.ले समृद्ध समाज निर्माणको निम्ती सबैपक्षका गलत ब्यबहारमा परिवर्तनको खांचो औल्याउनुभएको छ ।
समता समाजका जिल्ला अध्यक्ष राजेन्द्र नेपालीको अध्यक्षता र सचिव राम बहादुर नेपालीको संचालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर वि.सी.,जिल्ला अध्यक्ष थम्मन के.सी.,उपाध्यक्ष गोपाल पौडेल,सचिव बाबुराम सुनार,अन्टुकका केन्द्रिय उपाध्यक्ष गोविन्द वि.सी.,नेताहरु पशुपति ढकाल,कमल प्रसाद भुसालले मन्तव्य राख्दै नेपाली समाजको पुरातनवादी सोंचमा परिवर्तन आउन नसकेका कारण मुलुकमा जातिय भेदभावको समस्या हट्न नसकेको बताउनुभएको छ ।
सामाजिक सचेतना र नागरिकको ब्यबहारमा परिवर्तन नआए सम्म यो समस्या हटेर नजाने उहांहरुको ठहर छ ।