सर्वोच्चका प्रस्तावित पाँचै न्यायाधीश सुनुवाइ समितिबाट अनुमोदित

news
सर्वोच्च अदालतका प्रस्तावित पाँच न्यायाधीशलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।
समितिको बिहीबार बसेको बैठकले प्रस्तावित पाँचैजना न्यायाधीशसित सुनुवाइ गरी अनुमोदन गरेको हो ।
प्रस्तावित न्यायाधीशहरुमा कुमार रेग्मी, हरि फुयाँल, प्रकाश ढुंगाना, सुष्मालता माथेमा र डा. मनोज शर्माको सुनुवाइ भएको हो ।
समितिको बैठकमा बोल्दै प्रस्तावित न्यायाधीशहरुले न्यायालयलाई भ्रष्टाचारमुक्त बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनीहरुले संसदीय सुनुवाइ प्रणालीले जनताप्रति सबै निकायलाई उत्तरदायी बनाएको बताए ।
संविधान र कानुनको अधिनमा रही न्यायालयलाई स्वतन्त्र बनाउन आफूहरुले भूमिका खेल्ने उनीहरुले बताएका छन् ।
समितिमा बोल्दै प्रस्तावित न्यायाधीश रेग्मीले भ्रष्टाचार गर्ने चरित्र बोक्ने व्यक्ति न्यायाधीश हुन नसक्ने भन्दै त्यस्ता चरित्र भएकालाई कारबाही गर्न संसदलाई आग्रह गरे ।
उनले गरिब जनताको न्यायमा पहुँच पुर्‍याउन सर्वोच्चमा रहँदा आफूले हर प्रयत्न गर्ने बताए ।
त्यस्तै, फुयाँलले आफूले गर्ने न्याय सम्पादनसँग विगतको पृष्ठभूमि नजोड्न आग्रह गरे ।
सांसदहरुले कम्युनिस्ट पृष्ठभूमिबाट आएकाले त्यहीअनुसार न्याय सम्पादनमा प्रभाव पर्ने हो कि भन्ने आशंका गरेपछि उनले आफूले विगतका सबै विषयलाई बिर्सिएको र नयाँ जीवनसहित नयाँ जिम्मेवारी अनुभूति गर्नुपरेको महसुस भएको बताए ।
न्याय परिषद्ले कनिष्ठ व्यक्तिहरुलाई न्यायाधीश बनाएको भन्दै केही वरिष्ठ वकिलहरुलेसमेत सिफारिस अनुमोदन नगर्न समितिलाई आग्रह गरेका थिए । इमेजखबरमा समाचार छ ।