शोभाखर पन्थी
बैशाख ५ अर्घाखाँची । गुणस्तरीय शिक्षाको निम्ति सबै पक्ष एकता बद्ध भएर अगाडि बढ्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
भगवती माध्यमिक बिद्यालय सन्धिखर्क कुर शंखेटारीमा आयोजित शैक्षिक गुणस्तर बृद्धिमा सरोकारवालाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्ने बक्ताहरुले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तरमा आम्सिक रुपमा सुधार भएपनि लगानी अनुसारको उपलब्धि हासिल हुन नसकेको बताए ।
उनिहरुले शिक्षकमा लगनशीलता ,बिद्यार्थीमा ईच्छाशक्ति र अभिभावकका चासो भएमा शैक्षिक उपलब्धिमा सुधार ल्याउन सकिने बताए । कार्यक्रममा मन्तव्य राख्दै सन्धिखर्क नगरपालिका वार्ड नं. २ का अध्यक्ष मोतिजङ्ग रायमाझीले शैक्षिक गुणस्तर बृद्धिको निम्ति उच्च मनोबलका साथ लाग्न शिक्षकहरू लाई आग्रह गर्नुभयो । बिद्यालयको भौतिक निर्माण र अन्य आर्थिक तथा प्राविधिक सहयोगका निम्ति आफु लागि परेको भन्दै तत्काल परिणाममुखि सुधारको निम्ति बिद्यालयको ध्यानाकर्षण गराउनु भयो ।
वार्ड सदस्यहरु शुष्मा श्रेष्ठ ,मिनादेबी सावद र यमलाल पौडेलले सेवाक्षेत्रका सबै बालबालिकालाई अनिवार्य रुपमा बिद्यालय आउने सहज वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिबहरी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्यालय व्यबस्थापन समितिका सदस्य तुल्सीराम गैरे,समाजसेवी द्वय काजीमान रायमाझी ,विष्णुप्रसाद भुसाल ,बिद्यालयका प्रधानाध्यापक श्यामबहादुर भुसाल ,शिक्षक धुर्व के.सी.,कृष्णप्रसाद भुसाल लगायतका वक्ताहरूले शैक्षिक गुणस्तर र बिद्यार्थी भर्नाको बिषयमा धारणा राखेका थिए ।
यसैबीच भगवती माध्यमिक बिद्यालय शंखेटारीमा कक्षा ११ का बिद्यार्थीले कक्षा १२ का बिद्यार्थीलाई एक समारोहका बीच बिदाई गरेका छन्। उनिहरुले फुलमाला र अबिर लगाएर बिदाई गर्नुका साथै गीत र नृत्य समेत प्रस्तुत गरेका थिए ।