अर्घाखाँचीमै पहिलो पटक जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा स्तनपान कक्ष सञ्चालन (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  १७ बैशाख २०७६ । जिल्लामै पहिलो पटक जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा स्तनपान कक्ष स्थापना गरिएको छ ।  
सन्धिखर्क नगरपालिकाको सहयोगमा निर्माण गरिएको स्तनपान कक्षको  मंगलवार एक कार्यक्रमकाबीच मंगलवार नगर प्रमुख कमल प्रसाद भुसालले उद्घाटन गरेका थिए । 
विभिन्न सेवाका लागि जिल्ला प्रशासन कार्यालयमा आउने साना बच्चा भएका आमाहरुले सहज रुपमा आफ्ना बच्चालाई स्तनपान गराउन सकुन् भन्ने उद्देश्यका साथ स्तनपान कक्ष स्थापना गरिएको हो ।
नागरिकताको प्रमाणपत्र, राहदानी लगायत काममा स–साना बच्चाहरु लिएर आउने आमाहरुले खुल्ला स्थानमा स्तनपान गराउनुपर्ने बाध्यता हटेको नगर प्रमुख कमल प्रसाद भुसालले बताए । 
स्तनपान गर्ने उमेरका बच्चा भएका महिला सेवाग्राहीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट सेवा लिने क्रममा स्तनपान गराउन समस्या भएका कारण, अन्य सेवाग्राहीका सामु स्तनपान गराउनुपर्ने बाध्यताको अन्त्यका लागि यस्तो कक्ष स्थापना गरिएको भन्दै निर्माणमा सहयोग गर्ने सन्धिखर्क नगरपालिकालाई धन्यबाद दिएका थिए ।
आधा दर्जन बढी आमाहरु बसेर स्तनपान गराउन सकिने गरि कक्ष निर्माण गरिएको छ । यस्तै एउटा शिशुलाई सुताउन कोक्रो र खेलौनाको व्यवस्था समेत गरिएको छ ।   
  
स्तनपान कक्ष उद्घाटन कार्यक्रम प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षता र सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्वासेको सञ्चालनमा सम्पन्न भएको थियो । 

अन्य समाचारहरु