हृदय भुसाल
खिदिम, अर्घाखाँची २०७६ वैशाख ३० गते । अर्घाखाँचीको पाणिनी गाउँपालिका–३ खिदिमको दुर्गाफाटका १ सय ६ वर्षीय वृद्ध चर्तुभुज बन्जाडे आइतबार सम्मानित भएका छन् । जिल्लाकै इतिहास बोकेका बन्जाडेले सम्मानित भएपछि अझ बढी बाँच्ने भएँ भनेर प्रतिक्रिया दिएका थिए ।
सहिद परिवार नेपालको आयोजना सामाजिक विकास मन्त्रालय प्रदेश–५ तथा पाणिनी गाउँपालिका अर्घाखाँचीको आर्थिक सहयोगमा सञ्चालन भएको जेष्ठ नागरिक सम्मान तथा क्षमता विकास कार्यक्रममा बन्जाडेसहित पाणिनी गाउँपालिका भित्रका सबै वडाहरूका ७८ जना वृद्धवृद्धाहरूलाई नगदसहित दोसल्ला ओडाई सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष विशाल खड्काले वताए ।
गाउँपालिकाका सबै वडाका उपल्लो उमेर समूहका ज्येष्ठ नागरिक छनोट गरी कार्यक्रम गरिएको र आगामी दिनमा वृद्ध नागरिकको पक्षमा धेरै खालका कार्यक्रम गर्ने गाउँपालिका अध्यक्ष अच्युत गौतमले बताए । ज्येष्ठ नागरिकको अनुभवलाई सामाज रूपान्तरणमा प्रयोग गर्ने भन्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले पालिकाले वृद्ध आश्रम सञ्चालन गर्ने योजना बनाएको बताइन् ।
गाउँपालिकाभित्रका विभिन्न विकास निर्माण कार्यहरूसँगै वृद्धहरूको संरक्षण सम्मानलाई प्राथमिकतामा राखेर काम गरेको प्रमुख प्रशासकीय अधिकृत जनकराज पन्थीले बताए । पाणिनी गाउँपालिकाका विभिन्न वडाबाट सम्मानमा सहभागी भएका बुढाबुढी निकै खुसीका साथ दुःखसुख साटिरहेका थिए ।
सोही कार्यक्रममा सम्मान हुन आएका पाणिनी गाउँपालिका–६ निवासी ८२ वर्षीय खिमबहादुर सारुले भने, ‘म अहिले ८२ वर्षको भएँ । भारत सरकारको पेन्सन पकाई विभिन्न समय गरी वडाध्यक्ष भएँ । म सँग पैसाको कमीइ छैन अहिले भारतीय पेन्सन १ लाख १५ बुझ्छु । मसँग धेरै अनुभव छ भन्न सिकाउन चाहान्छु । कसैलाई पैसा चाहिए पनि मलाई भन्नु ।’